
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले संविधानले तोकेको अवधिभित्र तीनवटै तहको निर्वाचन गराउनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्ने माग गरेको छ।
बुधबार पार्टी कार्यालय बबरमहलस्थित बसेको उपलब्ध केन्द्रीय सदस्यको बैठकले नयाँ संविधानले तोके बमोजिमको आगामी माघ ७ भित्र निर्वाचन गर्नका लागि जरुरी वातावरण तयार गर्न छ वटा सर्तसमेत राखेको छ।
नयाँ शक्तिले नयाँ संविधानको सर्वस्विकार्यताका लागि संशोधन र कार्यान्वयनका लागि समेत सर्वपक्षीय सरकार अनिवार्य रहेको बताएको छ। उसले दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थ र चुनाव नगर्नका लागि घोषणा गरिएको बताएको छ। चुनावको निम्ति आवश्यक वातावरण तयार गर्न र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्न नयाँ शक्तिले सरकारसँग माग गरेको छ।
तीनै तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टीले राखेका ६ सर्तहरु
–जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन।
–प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुनर्संरचनाको विवाद अन्त्य।
–स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन।
–भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था।
–निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था।
–समय र खर्चको मीतव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर्नुपर्ने।