
काँकडभिट्टा, (झापा) : झापामा बिहीबारदेखि कला-साहित्य उत्सव हुने भएको छ।
रिडर्स झापाको आयोजनामा सञ्चालन हुने उत्सव फागुन १२ देखि १४ गतेसम्म चल्नेछ। यस उत्सवमा २७ वटा सत्रमा लगभग १०० जना कवि-लेखक, पत्रकार, संस्कृर्तिकर्मी, समाजशास्त्री, इतिहासविद्, राजनीतिज्ञ, कलाकर्मीहरुले विभिन्न विषयमा विचार-विमर्श गर्ने छन्।
झापाको काँकडभिट्टा खानेपानीको सभाहलमा आयोजना हुने यस उत्सवमा नाटक, गीतसंगीत, फिल्म, चित्रकला, मूर्तिकला, कविता, साहित्य, इतिहास, पत्रकारिताका आदिका विषयमा एकै थलोमा छ्लफल, वहस-विमर्श साथमा टेलिकमको सिम वितरण, ट्याटु, पुस्तक प्रदर्शन तथा फोटो प्रदर्शनका सत्रहरू सञ्चालित हुनेछन्।
उत्सवको पहिलो दिन चैतन्य मिश्र, भूपाल राई, चन्द्रवीर तुम्बापो, विन्दा पाण्डे, देवेन्द्रराज पाण्डे, युवराज खतिवडा, सिपी मैनाली, सीमा आभाष, अर्चना थापालगायतले विभिन्न विषयमा विचार-विमर्श गर्ने कार्यक्रम तय भएको छ। पहिलो दिनकै अन्तिम सत्रमा कविहरुले कविता वाचन गर्नेछन्। दोश्रो दिनमा देवेन्द्र थुम्केली, घनश्याम भुसाल, आहुती, केदार शर्मा, राजन मुकारुङ, सिके लाल, श्याम शाह, गुरुङ सुशान्त, प्रदीप गिरीसँग वहस गर्ने कार्यक्रम रहेको छ। तेश्रो दिनको कार्यक्रममा नवीन सुब्बा, तुलसी घिमिरे, डम्बर खतिवडा, सञ्जीव उप्रेती, सावित्री गौतम, राजा पुनियानी, किशोर नेपाल, नारायण वाग्ले, विप्लव प्रतीक, सङ्गीत स्रोता आदिसँग विभिन्न शीर्षकमा छलफल हुनेछ। यसका अतिरिक्त गजलवाचन, गायनको कार्यक्रम पनि रहेको छ।
कला, साहित्य, समाज, राजनीति तथा संस्कृतिलाई समेटेर रिडर्स झापाले २०६९ फागुनबाट कला-साहित्य उत्सवको आयोजना गर्दै आएको छ।