
काठमाडौं : दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र पौडेलले कार्यन्वयनमा जोड दिन आग्रह गर्दै ७ बुँदे सुविधा उल्लेख गरिएको सिफारिस पत्र मन्त्री श्रीपालीलाई बुधबार सिंहदरबारमा हस्तान्तरण गरे।
कार्यदलले दक्षिण एसियाली खेलकुदका स्वर्णधारी तथा एसियाली खेलकुदका पदक विजेता गरी जम्मा ११० खेलाडीहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सय प्रतिशत तथा हवाई÷सडक यातायात र मनोरञ्जन क्षेत्रमा ५० प्रतिशत छुटको सिफारिस गरेको छ।
यस्तै दक्षिण एसियालीमा रजत र ओलम्पिकमा सहभागी गरी जम्मा २३१ खेलाडीलाई शिक्षा र स्वास्थ्यमा ८० प्रतिशत, हवाई÷सडक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुट तथा दक्षिण एसियाली खेलकुदका ४४२ कांस्य विजेतालाई शिक्षा र स्वास्थ्यमा ७० प्रतिशत, हवाई÷सडक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुटको व्यवस्थाका लागि सिफारिस गरेको छ।
एसियाली पदक विजेता र दक्षिण एसियालीका स्वर्ण विजेताले मासिक रुपमा पाउने प्रोत्साहन रकम ५ हजारका दरले ४ महिनाको एकमुष्ठ पाइसकेकोमा त्यसलाई नियमित बनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ।
त्यस्तै खेलाडी अस्पतालको छुट्टै व्यवस्था, खेलकुद विश्वविद्यालय स्थापनाका लागि पहल तथा राष्ट्रिय खेलाडीका लागि विमाको व्यवस्था गर्न समेत सिफारिस गरिएको छ।