
चितागोङ : शेख कमाल इन्टरनेशनल क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब अफगानिस्तानको शाहिन आस्मायीसँग पराजित भएको छ।
चितगोङस्थित एमए अजिज रंगशालामा भएको खेलमा कप्तान अमिरुद्दिन सारिफीले ह्या६रिक गरेपछि मनाङ ३-१ ले परिजत भएको हो।
आस्मायीका लागि सारिफीले ३८ औं, ६५ औं र ७६ औं मिनेटमा गोल गरे। मनाङका लागि ७२ औं मिनेटमा सब्सिच्युट खेलाडीविमल बस्नेतले १ गोल गरे।
३८ औं मिनेटमा मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै कप्तान सारिफीको गोलबाट शाहिनले अग्रता बनायो। त्यसलगत्तै कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्कदा मनाङले बराबरी गर्ने मौका गुमायो। पहिलो हाफमा मनाङका गोलरक्षक दिनेश थापा मगरलाई आस्मायीका खेलाडीले निकै व्यस्त राखे।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि मनाङले ६५ औं मिनेटमा दोस्रो गोल खायो। कप्तान सारिफीले मैदानको बायाँ भागबाट दोस्रो बार च्याप्दै गोल गरे।
७० औं मिनेटमा विराज महर्जनलाई विस्थापित गर्दै मैदान प्रवेश गरेका विमल बस्नेतको ३ मिनेटपछि हेड मार्फत गोलगर्दै मनाङको खेलमा फर्कने आशा कायम राखेका थिए। विमलले सुजल श्रेष्ठको कर्नरमा गोल गरेका हुन्।
तर ७६ औं मिनेटमा सारिफीले पेनाल्टीमार्फत गोल गरेपछि मनाङको जित्ने आशा सकिएको थियो। बंगलादेशका रेफ्री मिजनुर रहमानले मनाङका डिफेन्डर सिसिकोले ह्याण्ड गरेको भन्दै आस्मायीलाई पेनाल्टी दिए।
मनाङका लागि त्यसअघि ५७ औं मिनेटमा ओलावाले र ६७ औं मिनेटमा साम्सोनले सुन्दर मौका खेर फालेको थियो।
हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्कनु नै खेलको टर्निङ प्वाइन्ट भएको बताए। ‘अनिलको हेड गोल भएको भए खेल हाम्रो पक्षमा हुने थियो। त्यही नै पराजित हुनुको टर्निङ प्वाइन्ट बन्यो।’ प्रशिक्षक गुरुङले भने, ‘तयारी राम्रै भएपनि शाहिनविरुद्धको खेलमा डिफेन्समा केही समस्या भयो। त्यसैले पराजित हुन पुग्यो।’
शाहिनका खेलाडीहरु शारीरिक रुपमा बलियो हुँदा मनाङका खेलाडीले सोचेअनुरुप खेल्न नसकेको उनले स्वीकारे।
यस्तै प्रशिक्षक लोप्साङले खेल २-१ को अवस्थामा हुँदा रेफ्रीले गलत निर्णय लिदा पनि पराजित हुनु परेको बताउँदै टिम सेमिफाइनलमा पुग्नेमा विश्वस्त रहेको बताए ।
तर आस्मायीसँग पराजित भएसँगै मनाङले सेमिफाइनल प्रवेशका लागि समूह चरणको अन्तिम खेल कुर्नुपर्ने भएको छ।
मनाङले पहिलो खेलमा बंगलादेशको मोहमेदन स्पोर्टिङलाई २-० ले पराजित गरेको थियो भने चितगोङ अवहनी लिमिटेडले आस्मायीलाई ३-१ ले पराजित भएको थियो।
बुधबारै चितगोङ अवहनी लिमिटेड र मोहमेदनबीचको खेल पनि हुँदैछ। मनाङले समूह चरणको अन्तिम खेलमा शुक्रबार चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ।