
काठमाडौं : लागातार दुई दिनदेखि सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसद्को बैठक बिहीबार पनि बोलाइएको छ। तर, बैठकको कार्यसूचीबारे कुनै सहमति भएको छैन। कार्यसूचीमा सहमति नभएपछि दुई दिनदेखि बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ।
संविधान संशोधनको प्रस्ताव कार्यसूचीमा प्रवेश गराउने वा नगराउने भन्नेमा दलहरुबीच विवाद छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका ९ दलले संशोधन प्रस्ताव कार्यसूचीमा पेश गर्न दुई सर्त अघि सारेका छन्। आन्दोलनरत मधेशी मोर्चाले प्रतिपक्ष दलहरुको सर्त अस्वीकार गर्दै आएको छ।
प्रतिपक्ष दलहरुले संविधानको धारा २७४(४) अनुसार संविधान संशोधनमा सीमाङ्कन हेरफेरका विषयमा प्रक्रिया सुरुअघि सरकारको जवाफ खोजेको छ। उक्त व्यवस्था अनुसार सीमाङ्कन हेरफेर प्रदेश सभाको सहमतिमा हुने व्यवस्थ छ। प्रदेश सभा गठन नभएको अवस्थामा उक्त संवैधानिक व्यवस्था अनुसार संविधान संशोधन कसरी गर्ने भन्ने प्रतिपक्षको प्रश्न छ।
यस्तै, प्रतिपक्ष दलहरुले प्रक्रियापछिको परिणामबारे मधेशी मोर्चाले स्पस्ट पारी चुनावप्रति प्रतिवद्धता जनाउनुपर्ने माग गर्दै आएका छन्।
तर, प्रतिपक्षका प्रश्नमा मधेशी मोर्चाले प्रक्रियापछिको परिणाम अनुसार नै निर्णय लिने बताएको छ। मोर्चाको जवाफका कारण प्रतिपक्ष दलहरु सदनमा संशोधनको कार्यसूची तत्काल अघि बढाउने पक्षमा देखिन्नन्।
दुवै पक्षका असहमतिबीच बिहीबार २ बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिले संसद्को कार्यसूची औपचारिक रुपमा तय गर्नेगर्छ। समितिमा सहमति नभएको अवस्थामा आजको बैठकको कारवाही पनि अनिश्चित नै छ।