PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​बैतडीमा चक्रपथ निर्माण सम्पन्न, दुई किलोमिटर सडक बनाउन १९ वर्ष



पहिलोपोस्ट

बैतडी : जिल्ला सदरमुकाम बैतडीमा चक्रपथ निर्माण कार्य सम्पन्न भएको छ। दुई किलोमिटर चक्रपथ सडक १९ वर्षपछि मात्र सम्पन्न भएको हो। अधुरै रहेको दुई किलोमिटरको चक्रपथ स्थानीयवासीले अगुवाइ गरेपछि पूरा भएको हो। 

दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक विसं २०५४ सालमा निर्माण थालेको हो। सडकको चारसय मिटर क्षेत्रमा स्थानीयवासीबीच विवादले यति लामो समयसम्म अधुरै थियो। गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो। थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण कार्य हुन सकेको थिएन। निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ। 

निर्माण योजना र बजेटबिनै स्थानीयवासीको अगुवाइमा क्षतिपूर्ति र पर्खालको माग गर्दै आएका प्रभावित परिवारले सहमति गरेपछि काम भएको हो। नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो चारसय मिटर पूरा गरेको स्थानीयवासी जनकराज भट्टले बताए। शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो। 

अघिल्ला वर्ष नगरपालिका, जिविस र सहरी विकास कार्यालयले रु चार÷पाँच लाख विनियोजन गर्दै आएका थिए। उक्त रकम २०÷३० मिटर निर्माणमा सकिँदै आएको थियो। समिति गठन र काममा हुने विवादले निर्माण अघि बढेको थिएन। यो वर्ष नगरपालिकाले साढे नौ मिटर ढल निकास र सडक बत्तीसहित कालोपत्र गर्न रु दुई करोड १३ लाख ७७ हजार टेन्डर प्रक्रिया थालेको इन्जिनियर जयसिंह बोहराले बताए। चक्रपथ निर्माणपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell