PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​जुुम्ला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले लगायो ताला, स्ववियु चुनाव अनिश्चित



पहिलोपोस्ट

जुम्ला : जुुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ। 

स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो। 

गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयविरुद्ध क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको अखिल क्रन्तिकारीका जिल्ला अध्यक्ष रमेश शाहीले जानकारी दिए। 

शाहीले क्याम्पस प्रशासन एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाए। 

क्याम्पस प्रमुख वसन्तराज भण्डारीले चुनावी प्रयोजनका लागि मात्र गरिएका संयुक्त भर्ना खारेज गर्ने निर्देशन भएअनुसार निर्णय गरिएको बताए। मतदाता नामावली प्रकाशन गर्ने तयारीमा रहँदा निर्णय विरुद्धमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको बताए। 

जुम्लाका सबै विद्यार्थी सङ्गठनबीच माघ २१ गते बैठक बसेर त्रिभुवन विश्वविद्यालयले गरेको परिपत्र सबैले मान्ने सहमति भएको थियो। जुम्ला, दाङ, सिराहामा यो समस्या भएकाले बुधबार त्रिभुवन विश्वविद्यालयमा यसबारे छलफल भइरहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell