बनेपा : काभ्रेपलाञ्चोकमा अनुमतिविना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ।
धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतीश श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो।
उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतविना एकहजार दुईसय घनफिट माटो झिकेको र २७ घनफिट माटो बरामद गरी उनीहरुलाई प्रहरी हिरासतमा लिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिए।
श्रेष्ठ र लामा दुवैलाई एक साताअघि जिल्ला वन कार्यालय, धुलिखेलले नियन्त्रणमा लिएको थियो। वन ऐन, २०४९ अनुसार उनीहरुलाई ६ महिना कैद वा रु एकहजार आठसय जरिवाना वा दुवै हुने प्रावधान रहेको छ।