PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

इलाममा चितुवा आतङ्क बढेपछि स्थानीयवासी त्रसित



रासस

इलाममा चितुवा आतङ्क बढेपछि स्थानीयवासी त्रसित

इलाम : चितुवाले गोठमा बाँधेका पशुचौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन्।

जङ्गली क्षेत्रभन्दा निकै टाढाका बस्तीसम्म झरेर घर–गोठमा बाँधिएका गाई, बाख्रा, गोरू र घोडासमेत मारिदिन थालेपछि लेकाली क्षेत्रका जमुना, जोगमाई, प्याङ, मावु, माइमझुवाका बासिन्दा हैरान बनेका हुन्।

घरगोठमै चितुवा आएर चौपाया खान थालेपछि आर्थिक नोक्सानीसँगै स्थानीयवासीमा डर र त्रास बढेको छ। फागुन पहिलो साताभित्र मात्र धेरै किसानको गोठका खसी, बाख्रा, गाई र घोडा चितुवाले खाइदिएको जमुनाका दीपक गुरुङले बताए।

चितुवाले जमुना–८ इङलाका तारामान गुरुङको तीनवटा खसी खाँदा रु ५० हजारभन्दा बढीको नोक्सानी भएको पीडितले बताए।

यस्तै, जमुना–८ कै दोर्जे शेर्पाका दुई माउ बाख्रा, जमुना–५ का छेत्तर शेर्पाका तीनवटा बाख्रा, जोगमाई–७ का सुब्बा कान्छाको एउटा घोडा र एक माउ गाई चितुवाले मारिदिएको छ। जोगमाई–१ र २ मा चितुवाले खोरबाटै धमाधम खसी लैजान थालेपछि स्थानीयवासीले खसी–बाख्रा घरभित्र थुन्नुपर्ने बाध्यता आएको स्थानीयवासी बताउँछन्।

चितुवा आतङ्कका कारण पशुचौपायालाई पनि घरमै थुन्नु परेको जमुनाका तारामान गुरूङ बताउँछन्। दुःख गरेर जोडेको पशुचौपाया चितुवाले खाइदिएपछि किसानलाई ठूलो आर्थिक नोक्सानी भइरहेको बताउँदै तारामान भन्छन्, 'आँगनमै आएर चितुवाले पशुचौपाया लगिदिन्छ, चितुवाका कारण घाँस/दाउरा लिन पनि जङ्गल जान मुस्किल भएको छ।'

वरिपरी सामुदायिक वन बढेपछि चितुवाको आतङ्क पनि बढ्न थालेको स्थानीयवासी बताउँछन्। जमुनाको हाँगेथाम, हिले, चोयाटार, जोगमाईमा कागे, महादेव लगायतका सामुदायिक वन रहेका छन्। भारतीय सीमाक्षेत्र नजिकका यी गाविससँगै भारत सरकारले संरक्षण गरिरहेको सिंहलिला नेसनल पार्क छ। वरिपरि संरक्षित वन रहेका कारण पनि बस्तीमा चितुवालगायत अन्य वन्यजन्तुको आतङ्क सधैँजसो भइरहने प्याङका लोकेन थेबे बताउँछन्। चितुवाको आतङ्क बढ्नुअघि यस क्षेत्रमा बँदेलको आतङ्क थियो। बँदेलले खेतबारीमा लगाएको खेतीबालीमा नोक्सानी पुर्‍याउँदै आएको छ।

 
सामुदायिक वनमा जथाभावी घाँस, दाउरा र स्याउला काट्न प्रतिबन्ध लागेपछि वन बढेको र जङ्गली जनावरको समेत आतङ्क बढेको स्थानीयवासीको भनाइ छ। विगत केही वर्षअघि नै सरकारले घरेलु हतियार सङ्कलन गरेपछि गाउँघरमा सिकार खेल्ने प्रचलन समेत बन्द भएकाले जङ्गली जनावर बढेको स्थानीयवासी बताउँछन्। वन्यजन्तुको आतङ्क रोक्न स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell