काठमाडौँ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्।
बिहीबार जारी ६ बुँदे वक्तव्यको चौथो बुँदामा भनिएको छ– 'स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ। राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनु पर्दछ।'
सरकारले गत सोमबार वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो। बुधबार मात्र निर्वाचन आयोगले वैशाख १६ गते उम्मेद्वारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
संयुक्त वक्तव्यमा संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्न माग गरिएको छ। त्यस्तै बाबुराम भट्टराईको नयाँ शक्तिले मधेसी मोर्चा र संघीय गठबन्धले चलाएको आन्दोलनलाई समर्थन गर्दै संयुक्त आन्दोलन गर्ने जनाएको छ।
'वर्तमान सरकारले व्यवस्थापिका संसद्मा आफैँले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गते स्थानीय निर्वाचनको घोषणा गरेको छ। यसले देशमा द्वन्द्व मात्र बढाएको नभई देशलाई झन् अस्थिरता र अनिश्चितताको दिशामा धकेलेको छ।'