.jpg)
काठमाडौँ : संसद्को बैठकमा संविधान संशोधनमाथिको छलफल प्रारम्भ हुने भएको छ। आज तीन बजे बस्ने संसद्को बैठकमा संविधान संशोधनमाथि छलफल हुने भएको हो। सभामुख ओनसरी घर्तीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमत भएको हो।
गत मंसिर १४ गते संसद्मा दर्ता भएर पुस २४ गते संसद्मा टेबल भएको संविधान संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन।
सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान छलफल गरेर संसद् बैठकमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी थिइन्। 'संसदको प्रक्रिया अगाडि बढाउनेमा उहाँहरु सहमत हुनुभयो। फेल पासभन्दा पनि भोलिका दिनमा आपसी सहमतिमा अगाडि बढाउने तर आज तत्काल प्रक्रिया नरोक्न सहमत हुनुभयो' बैठकपछि घर्तीले भनिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले भने बैठकपछि कुनै प्रतिक्रिया दिएनन्।
भाेलीका दिनमा अापसी सहमतिवाट अघि बढ्ने तर अाज संसद संचालनकाे प्रकृया नराेक्न सत्तारूढ @PM_Nepal र विपक्षी @kpsharmaoli सहमत हुनुभयाे । pic.twitter.com/E2rQ7RmfBJ
— Onasari Gharti (@SpeakerofNepal) February 23, 2017
सभामुख घर्तीका प्रेस सल्लाहकार वासुदेव शर्मा बबिनले संसद्को दुईवटा बैठक बसाएर भए पनि आजै छलफल प्रारम्भ हुन सक्ने बताए।
संसद्को बैठक मंगलरबार र बुधबार स्थगित भएको थियो। घर्तीका अनुसार संविधान संशोधनको कार्यसूची बैठकबाट अगाडि बढ्नेछ। बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधनमा छलफल अगाडि बढाउन दिने तर पारित गर्न नदिने निर्णय गरेको थियो।
'हिजोको कार्यसूचीअनुसार नै संसद् चल्छ, संशोधन प्रक्रिया अगाडि बढाइनेछ', उनले भनिन्।
राजनीतिक दलसम्बन्धी विधेयक अगाडि बढाउने
सभामुख घर्तीले संसद्को राज्य व्यवस्था परामर्श समितिमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक अगाडि बढाउनसमेत दलहरुलाइ आग्रह गरेकी छिन्। घर्तीका अनुसार प्रधानमन्त्री प्रचण्डले पनि सरकारले तत्कालै विधेयक संसदमा लैजाने जवाफ दिएका छन्।थ्रेसहोल्डका विषयमा दलहरुबीच मतभेद कायम रहेकाले राजनीतिक दलसम्बन्धी विधेयक समितिबाट पारित हुन सकेको छैन।