PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

चुनावको मिति सार्ने दाउमा बाबुराम : नयाँ शक्तिमा बढ्यो उपेन्द्रको दबदबा



अरुण सापकोटा

चुनावको मिति सार्ने दाउमा बाबुराम : नयाँ शक्तिमा बढ्यो उपेन्द्रको दबदबा

काठमाडौं : स्थानीय तहको निवार्चनको मिति घोषणा भएपछि नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले न चुनावको विरोध गरे न दिलदेखि स्वागत नै गर्न सके। 

चुनावको मिति घोषणा भएको दोस्रो दिन काठमाडौँमा उपलब्ध पार्टीका केन्द्रीय सदस्यहरुको बैठक बोलाएर विज्ञप्ति निकाले र सर्वपक्षीय सरकारको माग गरे। यत्तिमै अड्किएनन् उनी त्यसको बिहीबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर अर्को संयुक्त विज्ञप्ति निकाले जसमा चुनावको मिति स्थगनको माग गरे।

अघिल्लो दिनको एकल विज्ञप्तिमा उनले नयाँ संविधान कार्यन्वयनका लागि ०७४ माघ ७ भित्र तिनै तहको चुनाव हुनुपर्ने माग राखेका थिए। संविधानप्रति असन्तुष्टहरुका माग सम्बोधन गर्न सर्वपक्षीय सरकारको सर्त थियो त्यसमा।

दोस्रो दिनको संयुक्त विज्ञप्तिमा उनी भन्दा बढी यादव हावी भए र मधेसी मोर्चा र संघीय गठबन्धनले चलाएको आन्दोलनलाई समर्थनमा उत्रिए।

के हो सर्वपक्षीय सरकार ?
चुनावको मिति तोकेर कार्यतालिकासमेत सार्वजनिक भइसकेको अवस्थामा बाबुरामले माग गरेको सर्वपक्षीय सरकार भनेको के हो?

विश्लेषक मुमाराम खनालको विश्लेषणमा ‘सिस्टमलाई भाँडेर आफू सरकारमा जाने बाबुरामको बहाना मात्र हो।’ सर्वपक्षीय भन्दै सरकारमा गएर चुनावको नेतृत्व गर्ने र  आफ्नो पक्षमा केही भोट बढाउन सकिने मनस्थितिमा बाबुराम रहेको खनालको धारणा छ। खनाल यसले प्रजातन्त्रमाथि नै प्रश्न उठाउने तर्क गर्छन्।

‘बाबुरामको प्रवृत्ति नै विधि र पद्धतिलाई मिचेर अगाडि बढ्ने छ' खनालले भने।

केन्द्रीय सदस्य खिमलाल देवकोटा भने आफू मात्रै सत्तामा जान पार्टीले यो निर्णय नगरेको दावी गर्छन्। देवकोटा भन्छन् ‘निष्पक्ष चुनाव गराउनका लागि सबै राजनीतिक दलको सत्तामा समान सहभागिता गराएर निर्वाध ढंगले निर्वाचनको वातावरण तयार गर्न सबै पक्षको साथ र सहयोग लिनुपर्यो‍ भन्ने मात्रै हो।’ 

यसमा नयाँ शक्तिको मात्रै कुरा नगरेको भन्दै देवकोटाको दावी छ। ‘अहिले चलिरहेको तीन दलीय सिन्डिकेट तोडेर अस्थित्वमा रहेका सम्पूर्ण राजनीतिक पक्षहरुलाई सरकारमा सहभागी गराउनु पर्छ भनेका हौं ' उनले भने।

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरी कार्यतालिकासमेत निकालिसकेको अवस्थामा उनले राखेको माग चुनावमा भाग लिनेभन्दा बढी चुनावबाट भाग्न खोजेको आशंका उत्पन्न गराउँछ। मेधेसी मोर्चाले तराईका जिल्लामा चलाइरहेको आन्दोलनलाई समर्थन गरेर पार्टीका कार्यकर्तालाई समेत सहभागी गराउनुले यो आशंकालाई थप बल पुर्‍याउँछ। 

के गर्लान् अब?

बाबुरामले चुनाव घोषणा भएपछि दिएको प्रतिक्रियाले उनी चुनावमा भाग लिने मुडमा देखिदैनन्। बरु उनी सर्वपक्षीय सरकारको सर्त राखेर चुनावको मिति सार्ने दाउमा देखिन्छन्। उनले लगातार निकालेका विज्ञप्तिले पनि यसलाई पुष्टि गरिरहेको छ।

नयाँ संविधानप्रति सुरुदेखि नै असन्तुष्टि व्यक्त गर्दै आएको मधेसी मोर्चाको सेन्टिमेन्टलाई 'क्याच' गरेर उनि अर्को चुनावमा आफ्नो पक्षमा मधेसको मत बढाउने दाउमा देखिन्छन्।

भट्टराईको नयाँ शक्ति निर्माणको जग नै तत्कालीन असन्तुष्ट मधेसलाई साथमा लिएर भएको थियो। संविधान घोषणा हुनुभन्दा पहिलेदेखि नै मधेसमा चलेको आन्दोलनलाई समर्थन गरेर उनी मधेस छिरेका थिए।

त्यसपछि संविधान संशोधन गर्नुपर्छ भनेर मधेसमा आफ्नो संगठन स्थापित गराउने प्रयास गरिरहेका छन्। मधेसको अशन्तुष्टीको जगमा टेकेर उनी  सत्ताको यात्रा सहज बनाउन चाहन्छन्। त्यसैको एक पाटो समाजवादी फोरमसँगको पछिल्लो हिमचिम हो।

सके यादवसँग पार्टीनै एकिकरण गर्ने दाउमा उनी देखिन्छन्। बुधबार निकालेको एकल विज्ञप्ति भन्दा बिहीबार निकालेको स‌ंयुक्त विज्ञप्तिमा बाबुरामभन्दा उपेन्द्र हावी हुनुले समेत यही देखाउँछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell