PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक



पहिलोपोस्ट

निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव स्थानीय तहको निर्वाचनभन्दा अघि नै पारित हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ, त्यो भन्दा पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुन्छ, त्यसमा कुनै दुईमत छैन, कसैले शंका नगरे पनि हुन्छ।’
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावलाई छलफल गर्न दिने भनिसकेकोले आजैबाट संशोधन प्रस्तावमाथि छलफल सुरु हुने उनले बताए। ‘सकेसम्म सरकारले ल्याएकै प्रस्ताव पारित गर्ने प्रयत्न हुन्छ, यदि भएन भने परिमार्जनसहित भए पनि प्रस्ताव पारित हुन्छ’, उनले भने।
 
निर्वाचनको वातावरण बनाउनको लागि एमाले तयार हुनुपर्नेमा जोड दिँदै उनले मधेसी मोर्चाले भनेजस्तै पनि नहुने बताए। उनले भने, 'स्थानीय तहको संख्या बढाउने भनेर सरकारले भनिसकेकोले अब विवाद गर्नु उपयुक्त छैन।'
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेसमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिएका छन्। उनले भने, ‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ।’
 
संशोधन प्रस्ताव पारित गर्न अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पार्दै उनले भने, 'एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेसमा पाइला टेक्ने ठाउँसमेत पाउने छैन।'
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्।
 
मोर्चाले आफ्नो कुरा दिनदिनै फेरिरहेको आरोप लगाउँद उनले भने 'एमालेले आज सदनमा संशोधन प्रस्तावलाई छलफल गर्न दिने तर मोर्चाले यसपछि कस्तो प्रतिक्रिया दिने हो त्यो हेरेरमात्रै के गर्ने भन्न सकिन्छ।
 
मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्। उनले  सरकारले संसद्‍मा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सीमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्।
 
राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले यथास्थितिमा संविधान संशोधन प्रस्तावको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने धारणा राखेका छन्। उनले भने,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेसी मोर्चाले त्यसलाई स्वीकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक हौं, तर प्रस्ताव ल्याउँदा हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell