
काठमाडौँ : नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा रहेको संविधान संशोधन विधेयक फेल गर्न सोच्नुपर्ने अवस्था रहेको बताएका छन्।
संसद्मा विशेष समय लिएर बोल्दै नेम्वाङले विधेयक पारित गर्न नसकिने तर फेल गर्न पनि सोच्नुपर्ने अवस्था रहेको बताए।
'वास्तवमा यसो भन्दा अचम्म लाग्ला। यसलाई पास गर्न सकिन्न। हामी पास गर्ने पक्षमा छैनौँ। यो विधेयकलाई फेल गर्न पनि सोच्नुपर्ने अवस्था आएको छ', नेम्वाङले भने, 'जसको समस्या समाधान गर्न ल्याएको हो परिमार्जन गर्छौ ठिक छ, फेल गर्छौ गम्भीर परिणाम आउन सक्छ भनिरहेको छ। साँच्चिकै गम्भीर परिणाम निस्कन्छ भनेर सत्तापक्षले भन्दाभन्दै पनि सरकार किन यस्तो गम्भीर परिणाम निस्कने विधेयकलाई पास भए पनि होस् फेल भए पनि होस् भनेर अगाडि बढाउने कोसिस गरिरहेको छ? यो अचम्मको कुरा छ।'
नेम्वाङले स्थानीय तहको निर्वाचन घोषणा भैसकेको अवस्थामा सरकारले किन संविधान संशोधन विधेयक अगाडि बढाएर दलहरुबीचको दुरी बढाउन खोजेको हो भन्दै प्रश्न गरे।
'निर्वाचन घोषणा भएपछि सिङ्गो मुलुकले निर्वाचन सफल बनाउने तयारीमा जानुपर्नेमा संविधान संशोधन विधेयक फेरि किन उठाइयो थाहा छैन। दाँतमा ढुङ्गा लागे जस्तो भएको छ', उनले भने।
नेम्वाङले नेकपा एमालेसहित प्रतिपक्षी नौ दलको गठबन्धनले संशोधन विधेयक अगाडि बढाउँदा मौन रुपमा बस्ने निर्णय सदनलाई जानकरी गराए।
'संशोधन विधेयकलाई ९ दलको तर्फबाट हामी पारित गर्न सक्दैनौँ', नेम्वाङले भने, 'हामी यो संशोधनसम्बन्धी विधेयक प्रक्रियामा जान आजका लागि विरोध गर्दैनौँ। छलफलमा भाग लिदैँनौँ। हामी मौन रुपमा बस्छौँ। मौन रुपमा आजको प्रक्रियामा उपस्थित हुन्छौँ।'
नेम्वाङले आफ्नो कदमलाई सकरात्मक हस्तक्षेपको रुपमा अर्थ्याए।
नेम्वाङले निर्वाचनसम्बन्धी कानुन ल्याउन सरकारले ढिलाइ गरिरहेको आरोप लगाए। 'खै निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विधेयक? खै आयोग गठन गरेको? सरकारले किन अहिलेसम्म आयोग गठन नगरेको? प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसम्बन्धी विधेयक खै? राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी विधेयक खै? हामी कहिले कानुन बनाइसक्छौँ? कहिले प्रदेश र केन्द्र संसद्को निर्वाचन गर्छौँ। आफूले गर्ने काम नगरी देशमा साह्रै गम्भीर घटना घट्छ भन्नुको के अर्थ हुन्छ?', नेम्वाङ्ले प्रधानमन्त्रीलाई प्रश्न गरे।
नेम्वाङले नागरिक समाजले गरेको कार्यक्रममा नेताहरुप्रति व्यङ्ग सुरु भएको सुनाए। 'उहाँहरुले प्रश्न उठाउनुभयो, अनिर्वाचित नेताहरु भनेको त राजै हो नि। तपाईँहरुले राजा हुन खोजेको? सार्वजनिक रुपमा टिप्पणी गर्नुभयो। आवधिक निर्वाचन हुँदैन भने प्रजातन्त्र र राजतन्त्रमा के फरक?'

मोर्चालाइ माया र व्यङ्ग
मधेसी मोर्चासँग रहेको असन्तुष्टि सम्बोधनको प्रयास जायज रहेको उनको भनाइ थियो। 'तर प्रयास सफल भएन भने के गर्ने। त्यस्तो अवस्थामा संविधान बमोजिमको काम गर्नु हामीबीचको सहमति होइन। ९० प्रतिशत सांसद्ले हस्ताक्षर गरेर सहमति जनाएको होइन र?', उनको प्रश्न थियो, 'हामीले विवाद सुल्झाउन सकेनौँ। जनताको बीचमा जाउँ। जनताले दुधको दुध पानीको पानी छुट्याउँछन्।'नेम्वाङले एमाले उपाध्यक्ष बामदेव गौतम जनकपुरमा बसेको घरमा तोडफोड भएको प्रसङ्ग उप्काउँदै मोर्चालाई व्यङ्ग गरे।
'सत्तापक्षमा हुँदा पनि हामीलाई छाड्न सक्नु भएको छैन। विपक्षमा सँगसँगै हुनुहुन्छ। यसबाट हार्दिकता देखिन्छ', उनको भनाइ थियो।