
काठमाडौँ : नेकपा एमालेको मौनतामा संसद्मा संविधान संशोधनमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। नौ दलीय गठबन्धनले संविधान संशोधनको प्रक्रियामा लचकता अपनाउँदै संसद् अवरोध नगर्ने निर्णय गरेपछि संसद्मा संशोधनमाथि छलफल सुरु भएको हो।
कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक संसद्मा छलफलका लागि पेश गरेका थिए। नायकले पेश गरे लगत्तै नौ दलीय गठबन्धनमै रहेको नेपाल मजदूर किसान पार्टीले भने नाराबाजी गरेको थियो। नेमकिपाले संशोधन फिर्ता लिन माग गर्दै नारा लगाएका हुन्। चार सांसद रहेको नेमकिपाका तीन सांसद नाराबाजीमा सहभागी भएका थिए।
संसद्मा संविधान संशोधनमाथिको छलफलको क्रममा नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले अन्तिमसम्ममा सबै दल एक ठाउँमा आउने बताए। 'आगामी दिनमा छलफल र बहसको प्रक्रियाबाट पारित गरेर नयाँ ढंगको एकता हासिल गर्न जरुरी छ। तराई-मधेसका जनतामाथि शंका मात्र गर्ने र रैती मात्र ठान्ने मानसिकताले राणा ढले पञ्च ढले। मलाई लाग्छ यो पारित हुने बेलासम्म पक्ष र प्रतिपक्ष भेटिदैँन', उनको भनाई थियो।
तमलोपाका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान सर्वस्वीकार्यता दिएर मात्र कार्यान्वयनमा जानुपर्ने बताए। 'त्रुटिपूर्ण रुपमा यसलाइ सर्वस्वीकार्य नबनाई निर्वाचनमा जान सम्भव छ भन्ने उहाँहरुको विवेकको कुरा हो', उनले भने। उनले संशोधन प्रस्तावको हविगतबारे आफू जानकार नभएको बताए।
उनले संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे। प्रतिपक्षले आफ्नो गम्भीरतामा ध्यान दिने उनको भनाइ थियो।