PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र संकटा भिड्ने



पहिलोपोस्ट

बुढासुब्बा गोल्डकपको उपाधिका लागि पुलिस र संकटा भिड्ने

धरान : १९ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी संकटाबीच प्रतिस्पर्धा हुने भएको छ।
 
विहीबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक धरान निलोलाई ३-१ ले पराजित गर्दै संकटासँगको फाइनल भेट पक्का गरेको हो।
 
यस सिजन नकआउट टुर्नामेन्टमा पुलिसको यो पहिलो फाइनल यात्रा हो।
 
यसअघि प्रिक्वाटर र क्वाटरफाइनलमा कठिन जित हात पारेको पुलिसले सेमिफाइनलमा भने कप्तान जुमानु राइको २ गोलमा धरानमाथि सहज जित हासिल गर्‌यो।
 
धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको ३१ औं मिनेटमा मान बहादुर परियारले हेडमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा भरानका रेजिन सुब्बाले गोल गर्दै खेल बराबरी गरे।
 
तर त्यसको ४ मिनेटपछि नै जुमानु राईले व्यक्तिगत पहिलो गोल गरेपछि पुलिसले २-१ को अग्रता बनायो।
 
पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा एक गोल थप्यो। ६६ औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो तथा पुलिसका लागि तेस्रो गोल गरे।
 
पुलिसले प्रिक्वाटरमा धरानकै पहेँलो टोलीलाई सडनडेथमा हराएको थियो भने क्वाटरफाइनलमा कंचनजंगा एफसीलाई पराजित गरेको थियो।
 
पुलिस र संकटाबीचको फाइनल खेल आगामी शनिबार हुनेछ। यसै सिजन आहा रारा गोल्डकपको पहिलो चरणमा संकटाले पुलिसलाई पराजित गरेको थियो। बुडासुब्बामा पुलिसलाई संकटा विरुद्ध बदला लिने अवसर समेत रहेको छ।
 
यता विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको संकटा यस सिजन नकआउट टुर्नामेन्टमा ह्याट्रिक गर्ने योजनामा छ।
 
यसैगरी पुलिस र संकटा नै बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकपको क्वाटरफाइनलमा भिड्नेछन्।
(फाइल फोटो)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell