
काठमाडौं : महाशिवरात्रि पर्वको सुरक्षाका लागि ६ हजार चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ। पुशपति मन्दिर क्षेत्र आसपासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी ६ हजार चार सय सुरक्षाकर्मी परिचालित भएका हुन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनलाई उद्रृत गर्दै राससले जनाए अनुसार आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ।
उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए। दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव टन्डनले जानकारी दिए।
‘बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ’ टन्डनले भने।
यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ। गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले रु ३५ लाख सकलन गरेको थियो । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ।
राससको सहयोगमा