.jpg)
चितगोङ : बंगलादेशमा जारी शेख कमल इन्टरनेशनल क्लब कप-२०१७ को समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मर्स्याङदी क्लबले आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ।
खेल चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुनेछ। सेमिफाइनल प्रवेश गर्नका लागि मनाङले समूह चरणको अन्तिम खेलमा जित्नैपर्ने दबाव छ।
बराबरीको नतिजा मनाङका लागि अर्को चरण प्रवेश गर्न पर्याप्त हुने छैन। ठीक त्यसको विपरित आयोजक चितगोङ अवहनीले बराबरीको नतिजा निकाले सेमिफाइनल प्रवेश गर्नेछ।
मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले चितगोङ अवहनी लिमिटेडविरुद्धको खेल सेमिफाइनल प्रवेशका लागि ‘गर या मर’ को खेल रहेको बताए। उनले सेमिफाइनल प्रवेशका लागि बराबरीको नतिजा पर्याप्त नभएकाले चितगोङविरुद्ध जित्नकै लागि खेल्ने बताए। ‘सेमिफाइनल प्रवेशका लागि हामी चितगोङविरुद्ध जित्नकै लागि खेल्नेछौं, अर्को चरण प्रवेशका लागि जितको विकल्प छैन।’
प्रशिक्षक लोप्साङले भने, ‘अरुको गेममा निर्भर नरही आफैँ जितेर सेमिफाइनलमा स्थान बनाउनेछौं।’ शाहिनविरुद्धको खेलमा खेलाडीहरुले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक लोप्साङले चितगोङविरुद्धको खेलमा खेलाडीहरुबाट उत्कृष्ट प्रदर्शनसहित जितको आशा राखे।
विपक्षी टिमको बारेमा बोल्दै प्रशिक्षक लोप्साङले दुवै टोलीको जित्ने मौका बराबरी रहेको बताए। ‘चितगोङ पनि कमजोर टोली हैन। तर, उनीहरुको खेल हामीले हेरिसकेका छौं।’ प्रशिक्षक लोप्साङले भने, ‘पाएको मौकालाई सदुपयोग गरे हामी चितगोङलाई पराजित गर्न सक्षम छौं।’
यस्तै कप्तान अनिल गुरुङले चितगोङविरुद्धको खेल फाइनल जस्तै खेल भएको बताए। ‘हामीलाई सेमिफाइनल प्रवेशका लागि निश्चित जितको खाँचो छ। बराबरीले हामी अर्को चरणमा प्रवेश गर्न सक्दैनौ। त्यसैले यो फाइनल खेल नै हो।’
कप्तान गुरुङले भने, ‘घरेलु टोलीलाई घरेलु मैदानको फाइदा छ। उनीहरुलाई बराबरी नै पर्याप्त छ। तर हामीलाई तीन अंक महत्वपूर्ण छ, आशा छ हामीले तीन अंक लिन सक्नेछौं।’ कप्तान गुरुङले विपक्षी टिमको अग्रपङ्ती राम्रो रहेकाले उनीहरुलाई मार्क गर्दै पाएको मौकालाई मिस गर्न नहुने बताए।
मनाङले यसअघिका दुई खेलमा समान एक हार र एक जित निकालेको थियो। पहिलो खेलमा मनाङले मोहमोदेनलाई २-० ले पराजित गर्दा दोस्रो खेलमा मनाङ अफगानिस्तानको शाहिन अस्मायीसँग ३-१ ले पराजित भएको थियो।
समूह ‘बी’ मा मनाङ ३ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ। अपराजित चितगोङ अवहनी लिमिटेड ४ अंकसहित शीर्ष स्थानमा रहदा मनाङलाई गोलअन्तरमा पछि पार्दै शाहिम अस्मायी दोस्रो तथा मोहमोदेन १ अंकसहित पुछारमा छ।
यता नेपाली राष्ट्रिय टीमका गोलरक्षक किरण चेम्जोङ समेत खेलेका माल्दिभ्सको टिसी स्पोर्ट्स क्लब भने समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
यदी मनाङले चितगोङलाई हराउँदै समूह बी को उपविजेता बन्यो भने किरणले आफ्नै पूर्व क्लब विरुद्ध खेल्ने सम्भावना समेत छ।