काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशनरत दुई पत्रकारको माग र स्वास्थ्य अवस्थाप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनले विभिन्न चारबुँदे माग राखी तीन दिनदेखि आमरण अनसनमा रहेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्था र मागप्रति महासंघ नेतृत्वले जिम्मेवारीबोध नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
'महासंघकै एउटा शाखाका अध्यक्ष सहितका दुई पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुलढोकामा आमरण अनशनमा रहे पनि महासंघ नेतृत्व उनीहरुको माग सम्बोधन गर्न छाडी असारे मेलो छोप्नझैं दौडधुपमा रहेको देख्दा हामी अचम्मित भएका छौं,' युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'आमरण अनशन जस्तो अत्यन्तै कठिन आन्दोलनमा उत्रिएका साथीहरु र उनीहरुका मागलाई नजरअन्दाज गर्दै महासंघ नेतृत्वले देखाएका व्यवहारहरु इतिहासको कठघरामा रहनेछन्।'
पत्रकार महासंघको दुरगामी हितको लागि अनशनकारीद्वय पत्रकारहरुले उठाएका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै युनियनले पत्रकारको जीवनरक्षाका लागि जिम्मेवारीबोधका साथ प्रस्तुत हुन महासंघको नेतृत्वलाई सचेत गराएको छ।
स्वास्थ्य बिग्रँदो
चारबुँदे माग राखी नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनसनरत दुई पत्रकारको स्वास्थ्यमा समस्या देखा पर्न थालेको छ।सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा बुधबारदेखि अनसनमा रहेका पत्रकारद्वय ढुंगाना र अधिकारीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो।
राजनीतिक भागबण्डाका आधारमा सदस्यता वितरण रोक्न, विवादित जिल्लाको समस्या टुंग्याएर मात्र ६ महिनापछि अधिवेशन गर्न, इलाम र ताप्लेजुङको जिल्ला अधिवेशन खारेज गरी केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्न तथा शुद्धिकरण अभियानलाई तत्काल केन्द्रीय समितिबाटै थाल्न माग गर्दै उनीहरु अनसनमा बसेका हुन्।
बुधबार बिहानदेखि नै केन्द्रीय कार्यालयको मूलढोकामा तालाबन्दी गरी उनीहरु अनसनमा छन्। टाउको दुख्ने, रिँगटा चल्ने समस्या देखिएको उनीहरुले बताएका छन्।
यसैबीच, यसअघि नै तालाबन्दी गरिएको इलाम शाखा कार्यालयको ढोकामा कालो ब्यानगर टाँगिएको छ। नेपाल प्रेस युनियन र संघीय प्रेस फोरमले ढोकामा नै 'अवैधानिक अधिवेशनको नौटंकी खारेज गर' उल्लेख गरिएको कालो ब्यानगर टाँगेका हुन्। दुई समूहले गत ५ गते तालाबन्दी गरेका थिए।
अधिवेशन बहिष्कार गर्ने समूहले इलाममा युवराज भट्टराई (विप्लव) को अध्यक्षतामा समानान्तर समिति गठन गरेको छ भने ७ गते तोकिएको अधिवेशनबाट केन्द्रीय प्रतिनिधिको उपस्थितिमा कोकिला ढकालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरिएको छ। छुट्टाछुट्टै समिति बनेपछि र ताला नखुलेपछि इलाममा जटिलता उत्पन्न भएको छ।
यस्तै, पत्रकार महासंघ शाखा पाँचथर शाखाको कार्यालयमा आज तालाबन्दी गरिएको छ। विधान विपरीत कार्यसम्पादन गरिएको भन्दै ५ सूत्रीय मागसहित अनिश्चितकालिन तालाबन्दी गरिएको हो।