
काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तरगत धेरैको पर्खाइमा रहेको फिल्म 'लुट-२' सार्वजनिक भएको छ।
निश्चल बस्नेत निर्देशित 'लुट-२' सन् २०१२ मा सुपरहिट कहलिएको फिल्म 'लुट'को सिक्वेल हो। फिल्ममा पुरानै कथाले निरन्तरता पाएको छ। पाँच वर्षको अन्तरालमा भएका घटना र कथाले लिएको मोड नै मुख्य विषय हो। जसमा भूकम्पको प्रभाव पनि समेटिएको छ।
फिल्मको केन्द्रमा तीन कलाकार सौगात मल्ल, विपीन कार्की र कामेश्वर चौरासिया रहेका छन्। फिल्ममा कामेश्वर बैंकको सेक्युरिटीका रुपमा देखिएका छन्। जहाँ उनकै कारण मात्र 'मास्टर प्लान' सफल भएको देखाइन्छ। त्यस्तै विपीन कार्की हाकु काले (सौगाल मल्ल) को लुटेरा पार्टनरमध्ये एक हुन्छन्।
'ठमेल बजार गर्ल' एलिसा राईको पनि फिल्ममा आइटम डान्सर बाहेक महत्वपूर्ण भूमिका छ।
माधव वाग्ले र नरेन्द्र महर्जनको पुन: टिमअप गराएको फिल्म हो 'लुट-२'। छड्के निर्माणपछि यी दुईबीच सम्बन्धमा दरार आएको थियो। जसका कारण सँगै काम नगर्ने निर्णयमा पुगेका थिए।
फिल्ममा दयाहाङ राई, ऋचा शर्मा र सिर्जना सुब्बाको पनि महत्वपूर्ण भूमिका छ। यो हप्ता अन्य कुनै नेपाली फिल्म सार्वजनिक भएनन्। मल्टिप्लेक्स र सिंगल थिएटर गरी ९० प्रतिशत हल अकुपेन्सी लुटको छ।
बलिउड फिल्म 'रंगुन'ले भने नेपाली हलमा १० प्रतिशत शो पाएको छ। बलिउडतर्फ यही फिल्म मात्र नेपालका लागि यो हप्ता प्रदर्शनमा आयो। शाहिद कपूर, कंहना रनौत र सैफ अली खान फिल्मका मुख्य पात्र हुन्।
दोस्रो विश्वयुद्धको परिवेशमा बनेको फिल्ममा शाहिद कपूर इन्डियन ब्रिटिस आर्मीको रुपमा देखिएका छन्। विशाल भारद्वाज निर्देशित फिल्ममा कंगना मिस जुलिया बनेकी छिन्।