PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

पाठकको कठघरामा उभिएर लेखक भण्डारीले भने- 'हो, नेपालमै सकिन्छ'



पहिलोपोस्ट

पाठकको कठघरामा उभिएर लेखक भण्डारीले भने- 'हो, नेपालमै सकिन्छ'

काठमाडौं : प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र 'नेपालमै सकिन्छ' पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए। मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए। खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसँग तपाईंहरु सोध्नुहुन्छ कि म नै सोध्न सुरु गरुँ?’
 
पाठकसँग लेखक, लेखकसँग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक 'नेपालमै सकिन्छ'का विषयमा केन्द्रित थियो। प्रज्ञा भवन कमलादीमा जारी पुस्तक मेलाका क्रममा आयोजित अन्तरसंवादमा खनियाले लेखक भण्डारीसँग पुस्तकका विषयमा केही जिज्ञासा राखे। अनि पाठकलाई पनि जिज्ञासा राख्नका लागि आग्रह गर्दै भने, ‘रोहितजी यति बेला तपाईँहरुको कठघरामा हुनुहुन्छ, पुस्तकका विषयमा आफूलाई चित्त बुझेका नबुझेका जेजे कुरा छन् त्यो सबै भन्नोस्।’
 
कुराकानी करिब एक घन्टा चल्यो। रेडियो अडियोमा खुल्दुली डटकम मार्फत स्रोताका खुल्दुली मेट्ने खनियाले एक घन्टासम्म नेपालमै सकिन्छ पुस्तकका विषयमा आफ्ना र पाठकका खुल्दुली लेखक भण्डारी समक्ष राखे। पुस्तक किन लेखेको देखि लिएर पुस्तकमा केके छन् भन्ने सम्मका जवाफ दिएपछि लेखक भण्डारीले भने, ‘बजारमा आइसकेको पुस्तकका विषयमा म धेरै बोल्दिनँ। पाठक न्यायाधीश हुनुहुन्छ, ठिक बेठिक, राम्रो नराम्रो सबै छुट्याउने जिम्मा अब पाठकहरुकै हो।'
 
पाठकलाई पुस्तक पर्गेल्ने जिम्मा दिएपछि उनले थपे, 'सानो लगानीमा अत्यन्तै राम्रो आम्दानी गरिरहेका, डिभी/पिआर छोडेर नेपाल फर्किएका अनि नेपालमै रहेर लोभलाग्दो आम्दानी गरिरहेकाहरुका प्रेरणादायी कथा र विभिन्न सन्दर्भ समेटिएका कारण पनि पाठकले भन्नुहुनेछ— हो, नेपालमै सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell