PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

सरकारको औचित्य सकिएको संघीय गठबन्धनको ठहर, समर्थन फिर्ता लिने चेतावनी



सविन ढकाल

सरकारको औचित्य सकिएको संघीय गठबन्धनको ठहर, समर्थन फिर्ता लिने चेतावनी

काठमाडौं : संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्ने सरकारको औचित्य सकिएको भन्दै संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।
  
शुक्रबार फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको बैठक 'सरकारले धोका दिएको' भन्दै समर्थन फिर्ता लिने पक्षमा पुगेको हो। तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मोर्चासँगको छलफलपछि सरकारको समर्थन फिर्ता लिने गठबन्धनले तयारी गरेको बताए। उपाध्यक्ष लाले भने, ‘स्थानीय तहको संरचना नबन्दै सरकारले निर्वाचनको मिति घोषणा गरे गठबन्धनसँग गरेको तीन सुत्रीय सम्झौताको बेवास्ता गर्‍यो। अब हाम्रो समर्थन सरकारलाई हुँदैन।’ उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले धोका दिएको आरोप समेत लगाए।
 
गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचन मितिलाई अस्वीकार गर्दै आन्दोलनमा जाने तयारी गरेको छ। संयुक्त रुपमा आन्दोलन गर्नका लागि अन्य पार्टीसँग छलफल अगाडि बढाउने समेत बैठकले निर्णय गरेको हो। आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन गठबन्धनले ९ सदस्यीय समिति बनाएको छ।
 
गठबन्धनले गठन गरेको समितिमा तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा लगायत नेताहरु रहेका छन्। समितिले केही दिनमा नै आन्दोलनको कार्यतालिका बनाउने बैठकमा सहभागी अर्का नेताले बताए।
 
सरकारले गएको ९ गते आगामी बैसाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो। संविधान संशोधनको बेवास्ता गरी मिति घोषणा गरेको भन्दै सोही दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell