काठमाडौँ : नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल भारतीय कुटनितिज्ञका लागि चुनौतीको देश भएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरि स्वेदश फर्कनु अघि रिपोर्टस क्लबले शुक्रबार आयोजना गरेको कार्यक्रममा रायले भने – 'इण्डियन डिप्लोमेटका लागि नेपाल च्यालेन्जिङ जिम्मेवारी हो। प्रिलिभिलेज पनि होला तर च्यालेन्जिङ पनि हो।
रायले नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको उल्लेख गरे। ‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ।’
रायले स्थानीय तहको निर्वाचन घोषणालाई प्रजातन्त्रिक कदम भन्दै स्वागत गरे। साथै संविधान निर्माण देखिको सबैको सहभागिताको विषय निर्वाचनमा पनि लागू हुने बताए।
'नेपालले चालेका प्रजातान्त्रिक कदमको भारत स्वागत गर्छ। तर सबैलाइ सहमतिमा लिनुपर्छ संविधान मस्यौदा देखिको हाम्रो निति कायमै छ। सबैलाइ सहमतिमा लिनुस् भनेर हामीले भन्दै आएका छौँ र अझै पनि भन्छौँ। नेपालको उन्नतीको बाटो पनि त्यहि हो।'