काठमाडौं : ‘म एउटा कम्युनिस्ट हुँ, विद्रोही नेता हुँ र सशस्त्र आन्दोलनको सर्वोच्च कमाण्डर पनि, तर पनि म राप्रपासँग एकदम निकट जस्तो महसुस गर्छु। राप्रपासँग मिलूँमिलूँ झैं लाग्छ।’
फागुन ५ गते राप्रपाको एकीकरण महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग ‘मिलुँमिलूँ’ लाग्ने बताइरहँदा सभामा सहभागी धेरै नेता-कार्यकर्ता अचम्ममा परे।
जनतालाई क्रान्तिको सपना देखाउने प्रचण्ड र जनताको क्रान्ति दमन गर्ने आरोप लागेका कमल थापाबीचको यो ‘लभ स्टोरी' धेरैका लागि अचम्ममा पार्ने खालको थियो। इतिहास साक्षी छ- यी दुई पात्रलाई घृणाको राजनीतिले परिचित गराएको छ। लभभन्दा 'हेट स्टोरी’ नै बढी छ।
नेपाली उखान छ- ‘१२ वर्षमा खोलो फर्कन्छ।’ तर, नेपाली राजनीति र सामाजिक परिवर्तनका धेरै मोडहरुमा यो उखान असफल सिद्ध नै छ।
कमल-कमब्याक र पुनरोदय
२०६२/०६३ को जनआन्दोलनमा निकै नकारात्मक छवि निर्माण गरेका कमल थापालाई पनि राजनीतिमा ‘कमब्याक’ गर्न १० वर्ष लागेन। २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमार्फत उनको पार्टी चौथौ शक्तिका रुपमा उदायो।कमल थापा तिनै पात्र थिए, जसले २०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारीको प्रचार समेत गर्न पाएका थिएनन्।
तर, त्यसको ६ वर्षमा राजनीतिक परिस्थिति फेरियो।
राजनीतिक परिवर्तन संस्थागत गर्न मूलधारका राजनीतिक दलहरु एकपछि अर्को प्रकरणमा चुक्दै गएको अवस्थामा धर्म राजनीतिको वैकल्पिक एजेण्डा थापाले उठाए। दोस्रो संविधानसभामा धर्मलाई मूल आधार बनाएर चुनावमा होमिएका उनलाई सफलता हात लाग्यो पनि।
संसदीय अभ्यासमा मात्र होइन यति बेला थापाले पूर्वपञ्चसँगको एकताबाट थप शक्ति आर्जज गरेका छन्। राप्रपा र राप्रपा नेपालको एकीकरणबाट उनी एकीकृत पार्टीको अध्यक्ष चयन भएका छन्। संसद्को चौथो शक्तिको कमाण्डलाई बलियो बनाउन थापा सफल भएका छन्।
बहुदलीय व्यवस्थाको सुरुवातमा मुलुकको राजनीति दिशानिर्देशन गर्ने हैसियत राख्ने पूर्वपञ्चसँगको लगनगाँठोबाट थापा नेतृत्वको दल राप्रपा फेरि एकपटक राजनीतिक जोडघटाउमा निर्णायक शक्ति बनेको छ।
राष्ट्रिय राजनीतिमा कमल थापाको पुनरोदय भएको छ।
एकीकृत राप्रपाको अध्यक्षमा निर्वाचित भएसँगै नेपाली राजनीतिमा कमल थापाको पुनरोदय भएको छ। राजनीतिक व्यवस्था बदलिए पनि पुरानो व्यवस्थाका पक्षधर नेताको पुनरोदयलाई राजनीतिको विशिष्ट अवस्थाका रुपमा हेरिएको छ।
परम्परागत शक्तिको आडमा शक्तिशाली हुने थापा अहिले भने परम्परागत मुद्दामा शक्तिशाली बन्न सफल भएका छन्। २०३६ सालमा सशक्त भएको विद्यार्थी आन्दोलनलाई दबाउन तत्कालीन राजाको इच्छा अनुसार पञ्चायतले गठन गरेको स्वतन्त्र राष्ट्रिय विद्यार्थी मण्डलका अध्यक्ष भएर विद्यार्थी आन्दोलन दबाउने नेतृत्व गरेका थापा हरेक समय शक्तिमा छन्।
बहुदलविरुद्ध निर्दलीय पञ्चायतले गठन गरेको विद्यार्थी मण्डलका नेता थापा २०४२ सालसम्म विद्यार्थी आन्दोलन दबाउन काम गरे पनि ०५१ सालमा आइपुग्दा बहुदलीय सरकारका मन्त्री बने।
राप्रपा थापा समूहका कमलले सूर्यबहादुर थापाको सरकार हटेपछि लोकेन्द्रबहादुर चन्दको सरकारलाई समर्थन गरे। यसपछि सूर्यबादुरले उनलाई ‘मुसा प्रवृति’ भन्दै गाली गरेका थिए। संयोग उनै ‘मुसा प्रवृत्ति’ भन्ने सूर्यबहादुरका छोरा सुनीलबहादुर थापाको समर्थनमा कमल थापा अहिले एकीकृत राप्रपाको अध्यक्ष भएका हुन्।
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा गठन गरेको सरकारका गृहमन्त्री थापा २०६२/०६३ को आन्दोलनका समय गृहमन्त्री थिए। थापालाई जनआन्दोलन दबाउन प्रयोग भएका प्रमुख पात्रको रुपमा रायमाझी आयोगले दोषी ठहर गरेको थियो। त्यसपछि संविधानसभाको पहिलो चुनाव हुन लाग्दा थापाले चुनाव लड्न नपाउने भन्दै सर्वोच्चमा रिट समेत परेको थियो।
बहुदलीय व्यवस्थामा दललाई चुनाव लड्न प्रतिबन्ध नलाग्ने सर्वोच्चको फैसलापछि थापाले चुनावी मैदानमा प्रवेश पाए। तर, त्यो समय थापाका लागि चुनावी मैदान सहज भएन। काठमाडौं र मकवानपुर दुई स्थानबाट चुनाव लडेका उनले चुनाव प्रचार समेत गर्न सक्ने अवस्था बनेन।
संविधानसभाबाट ०६५ जेठ १५ मा गणतन्त्र घोषणा भए पनि गणतन्त्र घोषणा गर्ने संविधानसभा संविधान जारी नगरी विघटन भयो। थापा राजनीतिक गतिविधिमा सक्रिय भए। उनको सक्रियतालाई जनमतले समेत पचाउन थालेको थियो। त्यही जनमतको उपयोग गर्दै परम्परागत शक्तिको प्रतिनिधित्व गर्दै दोस्रो संविधानसभामा भाग लिएको उनको दल राप्रपा नेपालले हिन्दु धर्म र राजासहितको प्रजातन्त्रको नारा दिएर संविधानसभामा २५ सिट हत्याउन सफल भयो।
संविधानको विपक्षमा रहेर पनि संविधान चाहिन्छ भन्दै गणतन्त्रलाई समर्थन गरेको उनको पार्टी गणतन्त्रवादी राप्रपासँग एकीकरण गरी पूरै राप्रपालाई राजावादी पार्टीका रुपमा रुपान्तरण गर्न पनि थापाको व्यक्तित्वले काम गरेको थियो।
०६४ सालमा जनतामा खुलेर जान समेत नसक्ने उनै थापा राप्रपाको अध्यक्ष निर्वाचित भएसँगै संसद्को एउटा निर्णायक शक्तिका रुपमा स्थापित भएका छन्।