काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कामकारबाही प्रति असन्तुष्ट पदाधिकारीहरुको भेला बसिरहेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफलमा व्यस्त छन्। सभापतिमा निर्वाचित देउवाले कार्यसमितिलाई पूर्णता दिन नसकेको तथा विधान अनुसार चल्न नसकेकोमा उनीहरु असन्तुष्ट बनेका हुन्।
पार्टीमा कुनै संरचना नबनाइकन भाँडमा लैजान लागेकाले त्यसबारे छलफल बसेको एक नेताले बताए। रामचन्द्र पौडेललाई हराउँदै देउवा २०७२ चैत ४ मा पार्टी सभापतिमा निर्वाचित भएका थिए।
पार्टी पदाधिकारीसँगै उनले ११ महिनामा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता समेत तोक्न सकेका छैनन्। निर्वाचित पदाधिकारी वा निर्वाचित केन्द्रीय सदस्य वा मनोनीत केन्द्रीय सदस्यमध्ये जो कसैलाई यो जिम्मेवारी दिन सकिन्छ। तर उनले भरलाग्दो प्रवक्ता समेत आफ्नै पाउन सकेका छैनन्।