
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुने दाबी गरे। 'कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ,' उनले भने, 'तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं।’
शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउने बारे सहमति बन्दै गएको समेत खुलासा गरे। स्थानीय तहको निर्वाचनपछि नेतृत्व हस्तान्तरण हुने भन्दै उनले निर्वाचन कसैले भाँड्न नसक्दै बताए।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता एनपी साउदले मधेसी मोर्चाले भाग नलिए पनि चुनाव भएरै छाड्ने बताएका छन्। उनले भने, ‘चुनाव गर्नुपर्छ, कुनै पनि बहानामा रोक्नु हुँदैन, मधेसी मोर्चाले विरोध गर्दैमा चुनाव रोकिँदैन।’ आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्यान एमालेले कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन्। मिश्रले भने, ‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुंगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निष्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ।’ उनले मधेसी मोर्चालाई चुनावमा भाग लिएर मधेसमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चुनौति समेत दिए।
मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। उनले भने, ‘हामी २४ देखि ४८ घण्टा भित्रै सरकारलाई दिएको समर्थन कुनै पनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं।’ यद्यपि उनले अहिले नै समर्थन फिर्ता लिए पनि ओली र देउवामध्ये एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेस्टेट अनुहार भएको जिकिर गरे।