PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

प्रगतिशील लेखक संघको दोस्रो राष्ट्रिय परिषद् बैठक सकियो, १० बुँदे रुम्जाटार घोषणापत्र जारी



पहिलोपोस्ट

प्रगतिशील लेखक संघको दोस्रो राष्ट्रिय परिषद् बैठक सकियो, १० बुँदे रुम्जाटार घोषणापत्र जारी

रुम्जाटार (ओखलढुङ्गा) : प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ।
 
सङ्घको आज सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ।
 
बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादले राष्ट्रिय राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा छलछाम, षड्यन्त्र र हस्तक्षेप थोपरेको लगायत १० बुँदे रुम्जाटार घोषणापत्र, २०७३ समेत जारी गरेको छ।
 
घोषणापत्र जारी गर्दै प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि बुर्जुवा र उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवम् सिर्जनात्मक अभियान सञ्चालन गरिने बताए।
 
उनले आगामी जेठमा प्यूठानमा राष्ट्रियता चेतनासम्बन्धी राष्ट्रिय गोष्ठी, सबै प्रदेशमा भेला, केन्द्रमा नियमित परिसंवाद तथा मैथिली भाषाबारे जनकपुर र महेन्द्रनगरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।
 
प्राज्ञ नर्मदेश्वरी सत्यालले स्रष्टाहरुले संस्कृति सुधार र लैङ्गिक संवेदनशीताका क्षेत्रमा पर्याप्त काम गर्न सक्नुपर्ने बताउँदै राष्ट्रियतामा उत्पन्न खतरा चिर्न र राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
 
जिल्ला समिति घोषणा
यसैबीच युवराज दाहालको अध्यक्षतामा प्रलेस ओखलढुङ्गा जिल्ला समिति गठन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा लिम्बू, सचिवमा बोधनारायण श्रेष्ठ, कोषाध्यक्ष मनोज भट्टराई, सहसचिव कुमार काफ्ले तथा सदस्यमा मुना खतिवडा, विकास राई, शिवप्रसाद ढुङ्गाना, जीवन परिवार, हरिप्रसाद धमला, उर्मिला घिमिरे र बोधराज पौडेल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell