- बाबुराम भट्टराई
त्यतिबेला त म राजतन्त्रको अन्त्य गर्नु पर्छ भनेर नै राजनीतिमा लागेको थिएँ। वैचारिक रुपमा चेतनाको श्रोत चे ग्वेभारा थिए।
राजतन्त्रवादीहरुको विद्यार्थी संगठन थियो 'राष्ट्रवादी विद्यार्थी मण्डल'। यो फासिस्ट प्रकारको थियो र संगठनको एकदमै दबदबा थियो। त्यसको अन्त्यका लागि नेपालमा विभिन्न किसिमका संघर्षहरु भइरहेका थिए। त्यति नै बेला अन्तराष्ट्रिय स्तरमा चलिरहेको भियतनाम युद्ध त्यतिबेला युवाबीच चर्चा र जागरणको बिषय थियो। त्यसले मलाई पनि प्रभावित गर्यो र राजनीतिमा लागेँ।
चे ग्वेभाराको अन्तराष्ट्रिय मुक्ति संघर्षको जीबनबाट प्रभावित भएर म लगायत कलेजका केही साथी दक्षिण अफ्रिका जाने विषयमा छलफल गर्थ्यौं। हामी त्यतिबेला आर्किटेक्चर हुँदै थियौँ। राष्ट्रसंघको स्वयंसेवक भएर हामी पनि अफ्रिका जाने र त्यहाँको मुक्ति आन्दोलनलाई सघाउने भन्ने रोमाञ्चक परिकल्पना गर्थ्यौँ।
त्यही अफ्रिकाको जस्तै मुक्ति आन्दोलन चलाएर राजतन्त्र अन्त्य गर्ने सपना देखिन्थ्यो त्यसले नै राजनीतिमा अगाडि बढ्न प्रेरित गर्यो।
दिल्लीमा वीरेन्द्रलाई कालो झन्डा
अहिले पनि धेरै जेहेन्दार विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने भनाइ छ। राजनीति र पढाइ सँगसँगै लैजानुपर्ने विषय हुन्। राजनीति पनि पढाइको एउटा अंग हो।२०३६ सालमा म स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा मास्टरर्स पढ्दै थिएँ। त्यतिबेला अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष पनि थिएँ। नेपालमा त्यहीबेला जनमत संग्रहका निम्ति पञ्चायतविरोधी आन्दोलन चलिरहेको थियो। दिनभर म दिल्लीको जुलुस प्रदर्शनमा जान्थेँ र रातभरि पढेर बस्थेँ।
त्यहीबेला राजा वीरेन्द्र दिल्ली गएका थिए। दिल्लीमा हामीले वीरेन्द्रका विरुद्ध कालो झन्डा देखायौं। त्यही बेला म पहिलो पटक गिरफ्तार भए।
इन्जिनियरिङतिर त नक्सा कोर्नुपर्छ। म दिनभरि जुलुसमा जान्थेँ र रातभरि नक्सा कोरेर बस्थेँ। त्यतिबेला निरन्तर १ सय १० घन्टासम्म नसुतीकन थेसिसको काम सकाएँ। यसरी मैले पढाइ र राजनीति दुवैलाई सँगै अगाडि बढाए।
पछिल्लो दशक विज्ञान, प्रविधि तथा सूचना र सञ्चारमा जुन ठूलो क्रान्ति भयो त्यसले अहिलेका युवा विद्यार्थी धेरै सचेत बनेका छन्। तर नेपालमा राजनीतिक परिवर्तनको चक्र अलिकति ओझेलमा परेको छ।
विद्यार्थीमा पोलिटिकल बन्ने चलन कम र अपोलिटिकल बन्ने समस्या धेरै बढ्दै गइरहेको छ। विद्यार्थीले समयानुकूल राजनीतिक चेतनालाई कायम राख्नुपर्छ। त्यतिबेलाको राजनीतिक पुस्ता यसरी सूचना र सञ्चारसँग जोडिएको थिएन। तर पनि पोलिटिकल धेरै र अपोलिटिकल कम थियो। खासमा विज्ञान र प्रविधिले यो दुई पुस्ताबीच केही फरक सिर्जना गर्यो।
योगी बन्न चाहन्थे भोगी भएँ
चन्डीगढमा लाला हर्दयाल भन्ने गदर पार्टीका एक नेता थिए। उनी भारतीय स्वतन्त्र संग्रामका चिन्तक, र योद्धा थिए। उनले पछि क्यानडा लगायतका मुलुकतिर गएर अंग्रेजका विरुद्ध संघर्ष पनि गरे। तिनले लेखेको एउटा पुस्तक थियो। अहिले नाम बिर्सिएँ। उनको त्यो पुस्तकले मेरो जीवनमा निकै ठूलो मोड ल्याइदियो।त्यतिबेला आदर्शवादी, ऋषिमुनिहरु महान् व्यक्ति हुन्, त्याग तपस्या गरेर त्यतै लाग्नुपर्छ, घरपरिवार यस्तो सुखहरु सबै छोडेर हिँड्नुपर्छ भन्ने पूर्वीय दर्शन र चिन्तनबाट दीक्षित थिएँ। तिनै भारतीय चिन्तक हर्दयालले पुस्तकमा ‘सबै मानिस घर व्यबहार छोडेर हिँड्ने हो भने संसार कसरी चल्छ? बुद्ध कसरी ठूला भए, यी साधुसन्त कसरी ठूला भए, संसारमा रहेर संसार बदल्न अरु मानिस सहर जीवन बाँचेर सकिन्छ’ भन्ने कुराको तर्क गरेका थिए।
र्यासनालिज्म थियो उनको त्यो तर्कमा। उनी र्यासनालिस्टको रुपमा पनि चिनिन्थे। उनको त्यो तर्कले मेरो जीवनमा नयाँ मोड ल्यायो। नत्र म नितान्त आदर्शवादी ढंगले ऋषिमुनि, साधुसन्त जस्तो बन्ने बिहेबारी पनि नगर्ने सोचमा थिएँ।
ईश्वरप्रति मेरो आस्था र विश्वास त होइन तर त्यो ऋषिमुनिहरुको आदर्शप्रति झुकाव थियो। त्यसलाई लाला हर्दयालको त्यो पुस्तकले पूरै परिवर्तन ल्याइदियो। संसार सारालाई बदल्छु भन्ने मानिस त अरुसरह बाँचेर बदल्ने कुरा महान् हो भन्ने त्यो पुस्तकले सिकायो।
हिसिलासँगको प्रेम यात्रा
अखिल भारत नेपाली विद्यार्थी संघमा सहकार्य गर्दै अगाडि बढ्ने क्रममा हिसिला यमीजीसँग निकट्ता बढ्दै गयो। मलाई लाला हर्दयालको किताबले भौतिक सुखतिर तानेको थियो। हामीबीच सम्बन्ध कायम भयो।स्कुल अफ आर्किटेक्चर पढ्ने बेलामा म मास्टर्स पोस्टग्य्राजुएट पढ्थेँ, उहाँ ग्य्राजुएट पढ्दै हुनुहुन्थ्यो। त्यही क्रममा म अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ। उहाँ पहिले कोषाध्यक्ष अनि पछि महासचिव हुनुभयो।
यसरी हाम्रो सहकार्य अगाडि बढ्दै गयो। उहाँ एकदमै एक्टिभ महिला हुनुहुन्थ्यो। त्यतिबेलासम्म मेरो विवाह गर्ने सोच बनिसकेको थिएन। तर पछि उहाँ जस्तै स्वतन्त्र एउटा महिला भयो भने त बाधक बन्दैन भन्ने लाग्यो। मेरो प्रेममा पूरै आशक्ति भएर होइन कि र्यासनल्ली सोच्दाखेरि उहाँ पनि इन्डिपेन्डेन्ट रहनुहुन्छ, म पनि रहन सक्छु। दुवैको जीवनमा त्यस्तो कुनै कम्प्रोमाइज हुँदैन, पुरक कम्प्लिमेन्ट्री नै हुन्छ भन्ने भएर मैले उहाँलाई प्रस्ताव गरेँ र उहाँले स्वीकार गर्नुभयो।
हिसिलाजी एक्सट्रोभर्ट र म पूरै इन्ट्रोभर्ट टाइपको मान्छे। हिसिलाजी पूरै सरल। उहाँलाई बाहिर मानिसले जस्तो भन्छन् खासमा त्यस्तो मान्छे होइन। ओभर फ्र्याङ्क भएकाले सबै कमीकमजोरी एक्सपोज हुन्छ। त्यो कारणले गर्दा मानिसले उहाँलाई दु:ख पनि दिन्छन्। म त्यस्तो प्रकारको होइन।
बेलाबखतमा अलिकति भन्ने, बाहिरबाट टेन्सनमा आएका बेला कहिले झर्केर बोल्ने त्यस्तो टाइपको त भई नै हाल्छ। त्यो फेरि लोग्ने-स्वास्नीबीच स्वाभाविक पनि हो। स्वाभाविक कम्प्लिमेन्ट्री, पुरक कारणले गर्दा हाम्रो सम्बन्ध सधैँ सुमधुर नै रह्यो। ठुलो फ्याक्सन आएन।
चन्दाको धन्दा
अपारदर्शी ढंगले कहिल्यै चन्दा उठाइनँ। मेरो त्यस्तो स्वभाव थिएन र छैन। म मिजासिलो स्वभावकै मान्छे हुँ। हार्दिकतापूर्वक कसैसँग सहयोग माग्दा जसले जति दिन्थ्यो त्यति नै संकलन गरेर भने हिँडिन्थ्यो। डर, त्रास, धाक, धम्की देखाएर पैसा असुल्ने विकृति मबाट भएन।
विद्यार्थी राजनीति गर्नेहरुले जबर्जस्ती चन्दा उठाउने प्रवृतिलाई सर्वप्रथम परित्याग गर्नुपर्छ। तर फेरि सामाजिक कामको निम्ति आर्थिक सहयोग नै नलिने भन्ने त हुँदैन। पहिलो कुरा त्यो खुला र पारदर्शी हुनुपर्यो। दोस्रो सामूहिक हितको निम्ति भनेर उठाएको रकम व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिनु भएन।
अहिले नयाँ शक्तिले अब वर्षको दुईचोटि बैसाखमा र कात्तिकमा घोषित ढंगले नै आर्थिक संकलन अभियान चलाउँछ। त्यसलार्ई खुला र पारदर्शी ढंगले संकलन गर्छौँ। त्यो संकलनलाई बैंकमा एउटै खाता बनाएर जम्मा गर्नेछौँ।
विचारमा, भिजन र सोचमा प्रस्ट हुनुपर्यो। के प्राप्त गर्न चाहेको हो त्यसलाई सबै राजनीति गर्ने नेताले पहिचान गर्नुपर्छ। इमानदारिता हुनुपर्यो। भन्ने एउटा गर्ने अर्कै हुनुहुँदैन। भोटरप्रति मात्रै होइन आम मानिसप्रति सहयोगको भावना हुनुपर्छ। त्यसो हुन सक्यो भने व्यवहारलाई हेरेर नै भोट दिइन्छ। तिकडम या जालझेल गरेर एक पटक त ठग्न सकिएला तर दोस्रो पटक जनताले विश्वास गर्दैनन्।
पोलटिक्स इज नट अ डर्टी गेम
अहिलेको पुस्ताका प्रायले पोलिटिक्सलाई 'डर्टी गेम' भन्छन्। म भने पोलिटिक्स डर्टी गेम होइन, यहाँ डर्टी मानिस आएर यो डर्टी भएको हो। यहाँ क्लिन मानिस आउनुपर्छ डर्टीहरुलाई क्लिन गर्नुपर्छ।म पनि पहिले राजनीति खराब छ भन्ने सोच्थेँ। पढाइमा लगनशील भएको मान्छे, चारित्रिक हिसाबले पनि मलाई सबैले क्लिन भनेरै मान्ने। पछि मलाई लाग्यो फोहोर भनेर सफा गरिएन भने त यो सधैँ फोहोर नै भइराख्छ।
राजनीतिलाई सफा गर्नुपर्छ भनेरै यसमा लागेँ। राजनीति भनेको सबै नीतिको मुलनीति हो। त्यसैले राजनीति ठिक भएन भने अरु जतिसुकै सच्याउँछु भन्दा पनि सच्चिँदैन। त्यसैले मुल सच्याउने ठाउँ भनेको राजनीति नै हो। त्यसैले सबै राजनीतिप्रति सचेत हुनुपर्छ।
तर आफ्ना अन्य दक्षता, क्षमता र विज्ञतालाई छोडेर विशुद्ध राजनीतिमा लाग्ने चलनलाई मात्रै राजनीति भन्ने गरिन्छ। त्यो पनि होइन। हामी अहिले जुन विकास र समृद्धिको चरणबाट अघि बढ्नुछ र सम्मुनत समाज निर्माण गर्नुछ; त्यसको निम्ति विज्ञता हासिल गरेर समाजका निम्ति लगानी गर्नुपर्छ। यो पनि राजनीतिको एउटा अंग हो। यो पनि राजनीति नै हो।
(पहिलोपोस्टका दीपेश शाहीले नयाँ शक्ति पार्टीका संयोजक भट्टराईसँग गरेको कुराकानीमा आधारित)