PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​पोखरामा बर्डफ्लु भेटिएपछि, म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ



पहिलोपोस्ट

​पोखरामा बर्डफ्लु भेटिएपछि, म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ

बेनी : कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ। 

दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए। 

‘दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ’ उनले भने। 
बेनीबजारमा रहेको पोल्टी फार्मले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा र चल्ला खपत गर्ने गरेका छन्। जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ। 

दुईवटै नाकाबाट भित्रिने पशुपक्षीमा चेकजाँच र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ। बिहान बेलुकी लुकीछिपी भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसँग समन्वय गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर बर्डफ्लु नियन्त्रणका लागि आवश्यकताअनुसारको सतर्कता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ। 

म्याग्दी जिल्लामा पर्वत बेनी हुँदै दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कुखुरा भित्रिने गर्छ। जिल्लाभित्र नै मासुका लागि पर्याप्त कुखुरा खपत हुने गरेको अवस्थामा मासु पसलका सञ्चालकले सस्तो मूल्यमा बिना परीक्षण मासु ल्याउने गरेको गुनासोसमेत गर्ने गरिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell