रामपुर : बालिघाट क्षेत्र संरक्षण समितिको आयोजनामा डेढगाउँमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० बिरामीले सेवा लिएका छन्।
शनिबार सञ्चालन गरिएको शिविरमा कालीगण्डकी बेसीका पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाका नागरिकले सेवा लिएका हुन्। एक दिने निःशुल्क शिविरमा विशेषज्ञसहितका डाक्टरद्वारा हाडजोर्नी, बालरोग, स्त्रीरोग, मानसिक रोग, नशा रोगलगायतका सेवा प्रवाह गरिएको थियो।
स्वास्थ्य शिविरमा ८९ जनाले भिडियो एक्स–रे, अल्ट्रासोनोलोजिस्ट सेवा लिएको स्वास्थ्य एकाइका संयोजक वीरबहादुर बिसीले बताए।
दुई दिनको समय बिताएर पोखरा, बुटवल, कावासोतीमा स्वास्थ्य उपचारका लागि पुग्ने गरेका यहाँका स्थानीयवासीले घरदैलोमै सञ्चालन भएको शिविरबाट धेरै सुविधा लिन पाएकामा निकै उत्साहित भएको स्थानीयवासी चेतन पुलामीले बताए।
यहाँका स्थानीयवासीले बेलाबेलामा विभिन्न सुविधासहितको स्वास्थ्य शिविरसमेत सञ्चालन गर्न अनुरोध गरेका छन्। गाउँमा सञ्चालन भएको निःशुल्क र अत्याधुनिक शिविरबाट विविध सेवा लिनुका साथै समय र खर्चको पनि बचत भएकामा उनीहरु निकै उत्साहित भएका छन्। शिविरबाट वृद्धवृद्धा र महिला बढी लाभान्वित भएका छन्। रासस