बाबियाचौर : म्याग्दीको घार–५ मा रहेको मुक्तिमार्ग माविलाई एक परिवारले लाखाँै सहयोग गरेका छन्।
स्थानीयवासी टीकाबहादुर र उहाँका छोरा देवबहादुर खड्काले विद्यालयको भवन निर्माणका लागि रु १५ लाख ८५ हजार मूल्य बराबरको जग्गा र नगद सहयोग गरेको विद्यालयले जनाएको छ ।
खड्का परिवारबाट विद्यालयको आठकोठे भवन निर्माणका लागि तीन लाख ५० हजार नगद सहयोग प्राप्त भएको भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। देवबहादुर पर्यटन व्यवसायी हुन्।
उनले गत वर्ष रु ११ लाखमा तीन रोपनी जग्गा खरिद गरेर रु एक लाख ३५ हजार खर्च गरी जग्गा सम्माएर विद्यालयलाई उपलब्ध गराएका थिए। जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु ६० लाख अनुदान भवन निर्माणमा अपुग भएपछि समुदायस्तरमा चन्दा सङ्कलन र श्रमदान अभियान सञ्चालन गरिएको थियो।
भौगोलिक विकटताका कारण ढुवानी खर्च महँगो र देशभरका भवनको मापदण्ड एउटै भएकाले भवन अलपत्र पर्ने अवस्था आएपछि समुदायस्तरबाट सहयोग जुटाएर पूर्णता दिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए। उक्त भवन निर्माण सम्पन्न गर्न करिब रु एक करोड खर्च हुने अनुमान छ।
यसैगरी बेल्जियममा रहेका नारायण खड्काको पहलमा रु एक लाख २० हजार र जापानमा रहेका दधीवल खड्कामार्फत रु ५१ हजार सहयोग प्राप्त भएको छ। घार गाविस कार्यालयले रु पाँच लाख विनियोजन गरेको छ। रासस