काठमाडौं : प्रदेशसभा गठन नहुँदासम्म ५ नम्बर प्रदेशको सीमा हेरफेर गर्नु नहुने भन्दै सत्तारुद्ध दलका सांसद्हरुले संविधान संशोधन विधेयकमाथि संशोधन हालेका छन्।
नेपाली कांग्रेसका सांसद्हरु धनराज गुरुङ, अमरसिंह पुन र चन्द्र भण्डारी तथा माओवादी केन्द्रका सांसद् टोपबहादुर रायमाझीले प्रदेशसभा नबन्दासम्म सीमा परिवर्न गरिनु नहुने भन्दै संसद् सचिवालयमा संशोधन दर्ता गरेका हुन्।
संघीय तथा प्रदेश संसद्को निर्वाचन भई प्रदेश सरकार र संघीय सरकारको गठन गरेर मात्र सीमा हेरफेर गर्न उनीहरुको माग छ। यस्तै उनीहरुले 'प्रदेशबाट ३५ जना सदस्य निर्वाचित गर्दा भूगोल र जनसंख्यालाई आधार बनाई १४ जना महिला समेतको प्रतिनिधित्व हुनेगरी संघीय कानुन बमोजिम निर्वाचित गरिनेछ' भन्ने वाक्यांक राख्न पनि माग गरेका छन्।
यसअघि सरकारले संसद्मा विधेयक दर्ता गरेपछि प्रतिपक्षी एमालेभन्दा चर्को विरोधमा उत्रिएका सांसद्हरुले विधेयकमा संशोधन हालेर आफ्नो अडानलाई कायम राखेका छन्। संसद्मा ह्वीप लाग्ने र पार्टीको ह्वीप सांसद्का लागि बाध्यात्मक हुने भएकाले उनीहरुको संशोधन दर्ता चर्चाका लागि मात्र हुन्छ वा पछिसम्म त्यसको अर्थ रहन्छ भन्ने बारेमा भने संसद्को बैठकमा विधेयकमाथिका संशोधन निर्णयार्थ पेश गर्ने समयमा मात्र हुनेछ।
संविधान जारी हुनुअघि कांग्रेस सांसद् डा. शेखर कोइराला र अर्जुननरसिंह केसीले संविधानको अन्तिम विधेयकमा संशोधन लगे पनि पार्टी ह्वीपकै कारण अन्तिममा फिर्ता लिएका थिए।