PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

प्रधानमन्त्री कप महिला भलिबल : रेलवे, आर्मी र एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला भलिबल : रेलवे, आर्मी र एपीएफ सेमिफाइनलमा

नेपालगन्ज : साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपीएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

लगातार दोस्रो जित हात पारेसँगै भारतिय टीम रेलवे समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

प्रतियोगिताको दोस्रो आइतबार दिन रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई २५-८, २५-३, २५-७ को सोझो सेटमा हरायो। रेलवेले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको थियो।

अब समूह ए बाट नेपाल पुलिस र मध्यपश्चिम टीमको खेलपछि समूह उपविजेताको टुङ्गो लाग्नेछ।

यसैगरी आइतबारै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको अर्को टोली बर्षात एशोसियसनलाई २५-१७, २५-१९, २५- १७ ले हरायो।

बर्षातले लगातार दुई खेलमा हार बेहोरेपछि दुई विभागीय क्लब आर्मी र एपीएफ एक खेल खेल्नु अघि नै सेमिफाइनल प्रवेश गरेका हुन्।
पहिलो खेलमा एपीएफले वर्षातलाई पराजित गरेको थियो। दुई हारसँगै वर्षात भने समूह चरणबाटै बाहिरिएको छ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आर्मीले समूह बी को विजेताको लागि एपीएफसँग खेल्नेछ।

पहिलो सहभागितामै सेमिफाइनल पुगेपछि आर्मीका प्रशिक्षक लोक बहादुर बुढाले आर्मी घरेलु प्रतियोगितामा बलियो हुँदै गएको बताए। उनले भने, 'भारतीय टिमलाई हराउनु भनेको हाम्रो उपलब्धी हो।'

'प्रतियोगितामा बलियो टिमले भाग लिएको छन। हाम्रो टिममा नयाँ खेलाडीको बाहुल्यता रहेपनि विस्तारै खेलाडीले राम्रो खेलिरहेको छन्। यहि लयलाई जारी राखे हामी एपिएफ र पुलिसलाई हराउन सक्छौं।'

भारतीय टोली बर्षातका प्रशिक्षक आशिष शाहले जुनियर खेलाडी नर्भस भएका कारण प्रतियोगिताबाट बाहिरिनु परेको बताए।

उनले भने, हामी पहिलो पल्ट देश भन्दा बाहिर प्रतियोगिता खेल्न आएको हौं। तर प्रतियोगिता स्तरीय टिम आउँछन भन्ने हामीलाई थाहा थिएन। अर्को वर्ष आउँदा हामी पुर्ण तयारीका साथ आउँछौं र प्रतियोगितामा राम्रो फाइट दिने कोसिस गछौं।'

लिग चरणको अन्तिम खेलमा सोमबार नेपाल पुलिस र मध्यपश्चिम तथा एपीएफ र आर्मीलबीच खेल हुनेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell