
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्।
रियलले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै भियारियललाई ३-२ ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थान कायमै गरेको छ।
यता लियोनल मेसीले खेल सकिन चार मिनेट अगाडी निर्णायक गोल गरेपछि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै रियल माथि दबाब कायमै राखेको छ।
भियारियालको घरेलु मैदानमा भएको खेलमा रियललाई जि दिलाउन गारेथ बेल, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले १९ मिनेटको अन्तरमा गोल गरे।
पाँचै गोल दोस्रो हाफमा भएको खेलमा ट्रिगुएरस मुनोजेले ५० औं मिनेटमा गोल गर्दै भियारियललाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि बाकम्बुले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।
यससँगै दबाबमा परेको रियलले पुनरागमन गर्यो। ६४ औं मिनेटमा बेलले रियलका लागि पहिलो गोल गरे। त्यसको १० मिनेटपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेल बराबरी गरे।
वैकल्पिक खेलाडी मोराटाले ८३ औं मिनेटमा निर्णायक गोल गरेपछि रियल ३ अंक जोड्न सफल भएको हो।
जितपछि केही समय दोस्रोमा झरेको रियल २३ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा फर्केको छ। त्यसअघि बार्सिलोनाले एथ्लेटिकोलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो।
एथ्लेटिकोको मैदलानमा भएको खेलको ६४ औं मिनेटमा रफिन्नाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ७० औं मिनेटमा डिएगो गोडिनले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए।
तर ८६ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए। उक्त गोलसँगै यस सिजन ला लिगामा सर्वाधिक गोलकर्ताको सूचीमा मेसी अग्रता स्थानमा छन्। मेसीको गोल संख्या २० पुगेको छ भने दोस्रोमा रहेको बार्सिलोनाकै लुइस सुवारेजको १८ गोल छ। भियारियल विरुद्ध गोल गरेका रोनाल्डो १५ गोलका साथ तेस्रोमा छन्।
जितपछि २४ खेलबाट ५४ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ। समान खेलबाट ५२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ भने ४५ अंक रहेको एथ्लेटिको चौथामा छ।