PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

अमेरिकाको वासिङ्टन राज्य सरकारद्वारा अध्यापनका लागि नेपाली भाषा सूचीकृत



रासस

अमेरिकाको वासिङ्टन राज्य सरकारद्वारा अध्यापनका लागि नेपाली भाषा सूचीकृत

काठमाडौँ : संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ। 

वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए। 

हाल नेपाल भ्रमणमा रहेका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ।

अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ। जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उनले जानकारी दिए।

आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनुका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताए।

'वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन्, जसमध्ये छ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन्'- उनले भने।

२०१२ सालमा स्याङ्जामा जन्मिएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा सन् १९९३ मा अमेरिका गएको थिए।

हाल अमेरिकामा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङले वासिङ्टनका शैक्षिक संस्थामा आगामी दिनमा नेपाली विद्यार्थीलाई सङ्गठित गरी अध्ययन सुरु गराउने योजनामा रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell