PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन



रासस

काठमाडौँ : महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन गरिएको छ। 
 
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गठन गरेको समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य रहेका छन्।
 
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सो समूह गठन गरिएको जानकारी दिए।
 
उनले महिलामा लाग्ने पाठेघर तथा स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने गरी गृहकार्य भइरहेको र क्यान्सरको उपचार हुने सबै अस्पतालका व्यवस्थापन तथा चिकित्सकसँग छलफल भइरहेको जानकारी दिए।
 
मन्त्री खड्काले काठमाडौँको कारागारमा रहेका महिला कैदीका लागि कारागारमै सीपमूलक कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै हिंसापीडित महिलाको पुनःस्थापना र महिलाको अध्ययन र आर्थिक गतिविधिसमेत सञ्चालन गर्न प्रत्येक प्रदेशमा कम्तीमा एउटा महिला ग्राम तथा अपाङ्ग ग्राम केन्द्र स्थापना गर्न लागिएको बताए।
 
मन्त्रालयले निजामती, शिक्षा, स्वास्थ्य, सेना तथा निजी क्षेत्रका सबै कर्मचारीको तलबको १० प्रतिशत आ–आफ्ना जन्मदाताको खातामा अनिवार्य जम्मा गर्नुपर्ने तथा ज्येष्ठ नागरिकले पनि कुल सम्पत्तिको ७५ प्रतिशतभन्दा बढी सन्ततिलाई दिन नहुने योजना ल्याउन लागेको छ।
 
सो योजना कार्यान्वयन भएपछि ज्येष्ठ नागरिकले विशेष लाभ प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell