
काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्।
आज अस्पताल नै पुगेर उनले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना पनि गरे। पुनको स्वास्थ्यबारे बुझ्न आज बिहानै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि अस्पताल पुगेका थिए।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका पुनको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकहरुले बताएका छन्। चार दिनदेखि रिँगटा लाग्ने, वान्ता आउने, ज्वरो आउने समस्या भएपछि उनलाई आइतबार राति अस्पतालमा भर्ना गरिएको हो।
डा. मधु घिमिरे र डा. शिवजीविक्रम सिलवाल उनको उपचारमा संलग्न रहेका छन्। उनको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिए डा. घिमिरेले बताए।