
नेपालगन्ज : दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ चौथो प्रधानमन्त्री कप इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन्।
समूह क को अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्य पश्चिम तथा समूह ख को खेलमा एपीएफले नेपाल आर्मीलाई हराएपछि पुलिस र एपीएफ अन्तिमा चारमा भिड्ने भएको हो।
नेपालगंजको कर्भडहलमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई ३-० को सेटमा हरायो।
लिग चरणको पहिलो खेलमा साविक विजेता रेलवेसँग ३–० को सेटमा हार बेहोरेको पुलिसले दोस्रो खेलमा आयोजकमाथी २५–११, २५–८ र २५–१८ को सेटमा हरायो।
यस्तै विभागीय भिडन्तमा एपीएफले नेपाल आर्मीलाई हराउँदै समूह बी को विजेता बन्यो। एपीएफले नेपाल आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन दिएन। एपीएफले आर्मीलाई २५–५, २५–८ र २५–९ को सेटमा पराजित गर्यो।
जितसँगै दुई खेल जितेको एपीएफ समूह ख को विजेता तथा आर्मी उपविजेता बन्यो।
भारतीय क्लब बर्षात एशोसिएसन समूह चरणको दुवै खेलमा पराजित भएसँगै एपीएफ र आर्मी यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो।
साबिक विजेता भारतको रेलवे समूह क बाट अपराजित रहदै विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्दा एक खेल जितेको पुलिसले उपविजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो।
बर्षात एशोसियसन र आयोजक मध्य पश्चिम भने कुनै खेलद नजिती समूह चरणबाटै बाहिरिएका छन्।
बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा मंगलवार पहिलो सेमिफाईनल खेल समूह क को विजेता रेलवे र समूह ख को उपविजेता आर्मीबीच हुनेछ।
दोश्रो सेमिफाईनल खेल समूह ख को विजेता एपीएफ र समूह क को उपविजता पुलिसबीच हुनेछ।