PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

विदा हुँदैछन् भारतीय राजदूत रणजीत राय, यस्तो रह्यो उनको विवादले भरिएको कार्यकाल



मनोज सत्याल

विदा हुँदैछन् भारतीय राजदूत रणजीत राय, यस्तो रह्यो उनको विवादले भरिएको कार्यकाल

काठमाडौँ : नेपालका लागि भारतीय राजदूत रणजीत राय आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कँदैछन्। भदौ १७,  २०७० मा भारतीय राजदूत बनेर रणजीत राय काठमाडौँ आउँदा उनी यसअघिका राजदूत जयन्तप्रसाद जस्तो ‘सफ्ट डिप्लोमेसी’ मा अघि बढ्लान् कि त्यसअघिका राजदूत राकेश सुदजस्तो ‘एग्रेसिभ’ होलान् भन्ने अनुमान कुटनीतिक वृत्तमा चलेको थियो। 

राकेश सुद यति धेरै विवादित बने कि उनलाई जुत्ता प्रहारसमेत गरियो। तत्कालीन माओवादी नेताका भाषणहरुमा उनीप्रति घृणा ओकलिएको हुन्थ्यो। सुदपछि जयन्तप्रसाद राजदूत भए। दुई वर्षको कार्यकालमा उनी सुदभन्दा कमै विवादमा आए।

रायले सुरुमा जयन्तप्रसादकै पदचिह्न पछ्याएजस्तो गरे तर उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध इतिहासमै सबैभन्दा खराब बन्न पुग्यो। 

तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा राजदूत बनेर आएका रायको कार्यकालमा भारत सम्बन्ध सुदृढ हुने अपेक्षाकाबीच तनावपूर्ण र खराब बन्यो। रायकै शब्दमा भन्ने हो भने दुई मुलुकबीचको सम्बन्धको हेराईको निर्धारण राजनीतिक लाइनले गरेको पनि हुनसक्छ। अर्थात् भारतीय जनता पार्टी र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै रायलाई पनि 'नयाँ लाइन'ले अगाडि बढायो। 

सन् २००५ मा नयाँ दिल्लीमा सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीको पर्दापछाडिका योजनाकारका रुपमा उनलाई भारतीय मिडियाले व्याख्या गर्ने गरेका छन्।



रायको साढे ३ वर्षको कार्यकालमा संविधान सभाको दोश्रो चुनाव भयो। नेपालमा सार्क सम्मेलन भयो। १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि भयो। यतिबेलासम्म नेपाल र भारतको सम्बन्ध सकारात्मक रह्यो।

जब नेपालमा संविधान जारी भयो, त्यसपछि दुई देशबीच तनाव सुरु भयो। 

दिल्लीले रायलाई त्यस्तो महत्त्वपूर्ण समयमा दूत बनाएर पठाएको थियो, जतिबेला नेपालमा दोस्रो पटक सं‍विधानसभाको निर्वाचन हुँदै थियो। भियतनामका लागि राजदूत भइसकेका राय विदेश मन्त्रालयको नर्थ डिभिजनमा ज्वाइन्ट सेक्रेटरी थिए। नेपालमा माओवादी गतिविधि चर्किरहेको बेला उनी नेपाल मामिला हेर्ने विभागमा थिए।

सन् २००५ मा नयाँ दिल्लीमा सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीको पर्दापछाडिका योजनाकारका रुपमा उनलाई भारतीय मिडियाले व्याख्या गर्ने गरेका छन्। शायद् आफ्नो यही ब्याकग्राउन्डका कारण उनले नेपालमा संविधान बनाउने मामिलामा आफ्नो सुझाव दलहरुले मान्नेमा उनी ढुक्क थिए। 

तर प्रमुख तीन दलहरुले जस्तोसुकै अवस्थामा पनि संविधान जारी गर्ने सहमति कार्यान्वयन गर्न थालेपछि उनको सक्रियता एक्कासी बढेको थियो। संविधानसभाबाट संविधान पारित गर्ने क्रम अघि बढ्न लाग्दा उनी नयाँ दिल्ली पुगेका थिए तर त्यतिन्जेल ढिला भइसकेको थियो।

भारतले नेपालको संविधानलाई ‘नोट’ मात्र गर्‍यो, स्वागत गरेन। संविधान संसदले पास गरिसकेर घोषणा गर्नमात्र बाँकी छँदा भारतले विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकरलाई पठाएर त्यसलाई रोक्न दिएको दबाब असफल भएपछि भारतले नेपालमाथि नाकाबन्दी नै गर्यो । नेपाल र भारतबीचको सम्बन्ध इतिहासकै नाजुक बन्यो। भारतीय संसदमा नेपालबारे बहस भयो। अनि नेपालको संसदमा भारतीय राजदूतलाई देश निकाला गर्न माग गर्दै नाराबाजीसमेत भयो। 

सोसल मिडियामा ब्याकअफ इन्डिया भन्दै चर्को आलोचना भयो।


रायलाई उनको कार्यकालमा नेपाल र भारत सम्बन्ध बिगार्न खेल खेलेको आरोप लाग्यो। केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सक्रिय बनेको आरोप लाग्यो। उनको कार्यकालयमा नाकाबन्दीको प्रतिक्रिया स्वरुप नेपालले चीनसँग पारवाहन सन्धिमा हस्ताक्षरसमेत गर्‍यो।
 
राजदूत रायको कार्यकाल नेपाल र भारतको सम्बन्ध उतारचढावको केन्द्रमा रह्यो। दि काठमाण्डू पोस्ट दैनिकका सम्पादक अखिलेश उपाध्यायका अनुसार राय आफ्नो कार्यकालमा भारतले जस नपाएकोमा खिन्न छन्। उपाध्यायले 'बिग बोदर' शीर्षकको लेखमा लेखेका छन् – एएफपीको एउटा रिपोर्ट उल्लेख गर्दै रायले नेपालको लोडसेडिङ हटाउने सफलतामा कुलमान घिसिङलाई बधाई दिइएको तर भारतबाट विद्युत आयात गरिएको विषय नसमेटिएकोमा असन्तुष्टि जनाए। उनले स्पष्ट रुपमा खिन्नता व्यक्त गरे कि नेपालको विद्युत आपूर्ति नेपाल-भारत ट्रान्समिसन लाइनको स्तरोन्नति बिना सम्भव थिएन तर त्यो विषय समेटिएन।

नाकाबन्दीका कारण नेपालीमा झन् भारतविरोधी भावना भड्कियो जसलाई नेपालमा बसेर फेस गर्ने काम उनै रायले गर्दैरहे। 

रायको कार्यकालबारे नेपालमा मात्र विवाद भएन भारतीय मिडियाहरुले समेत आलोचना गरे। क्याच न्यूजमा भारत भूषणले नेपालमा भारतीय कुटनीति फेल भएको भनेर लेखे। उनले भारतीय राजदूतलाई प्रधानमन्त्री बन्नु अघि नै केपी शर्मा ओलीले 'माइन्ड योर बिजेनस' भनेर जवाफ दिएको विषय उल्लेख गरे। 

नेपालको मामिलामा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले रणजीत रायमार्फत् कुटनीति सञ्चालन गरेका थिए। बीबीसी हिन्दीको समाचारमा इण्डियन एक्सप्रेसका सह सम्पादक सुशान्त सिंहले भनेका छन् - 'हामीकहाँ भएको राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका पश्चिमा देशहरुमा भन्दा भिन्न किसिमको छ। यसमा आन्तरिक र बाह्य सुरक्षासँगै कुटनीतिक सम्बन्धको पनि भूमिका छ। डिप्लोमेसी अनुसार हेर्ने हो भने भारतको आफ्नो उपमहाद्विपमा सम्बन्ध खराब भएको छ। माल्दिभ्स, नेपालसँग पनि अझ पाकिस्तानसँग फ्लप भएको छ।' 

त्यसो त संविधान जारी भए लगत्तै भारतले नेपालमा नाकाबन्दी गरेपछि नेपालले राजदूत रायलाई स्पष्टिकरण समेत सोध्यो। 

पेट्रोल लिन उत्तरी सीमा पुगेका ट्याङ्कर।

नाकाबन्दीका कारण नेपालीमा झन् भारतविरोधी भावना भड्कियो जसलाई नेपालमा बसेर फेस गर्ने काम उनै रायले गर्दैरहे। संविधान घोषणादेखि ओली सरकारको उदय र पतनसम्मको परिस्थितिमा उनी सक्रिय भए।  

‘उहाँको कार्यकालमा बढी माइक्रो म्यानेजमेन्टतर्फ लागेको देखिन्छ,’ परराष्ट्र मामिलासम्बन्धी जानकार हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘माइक्रो म्यानेजमेन्टमा लागेपछि र एक क्षेत्रमा विशेष लगाव राखेपछि विवादभन्दा माथि उठ्न सक्ने कुरै भएन।‘

श्रेष्ठका अनुसार पूरा नेपाल र नेपालका अरु क्षेत्र भन्दा पनि उनको कार्यकालमा मधेसकेन्द्रित चलखेल, सम्पर्क सहयोग र परस्पर सम्बन्ध विशेष देखिन्छ। 

‘सक्रिय भारतीय कुटनीतिज्ञहरुमाझ नै रायको स्थान देखियो’,  श्रेष्ठ भन्छन्। श्रेष्ठको तर्कसँग सहमत छन् नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली। ज्ञवाली भन्छन् – ‘उहाँको कार्यकाल एकपक्षीय थियो भन्ने कुरा त उहाँको बिदाइमा मधेसी दलको सहभागिताले देखाउँछ। त्यस्ता कुरालाई उहाँले इन्टरटेन गरेर हाम्रा निम्ति नेपालका मूलधारका राजनीतिज्ञहरु भन्दा मधेसकेन्द्रित दलहरु (नजिक) छन् भन्ने सन्देश दिन खोज्नुभयो। डिप्लोम्याटका हिसाबले उहाँ त्यस्ता कुराबाट बच्नु पर्थ्यो। त्यो नगर्न खोजेबाट नेपालको राजनीतिक यथार्थसँग उहाँको काम क्रियाकलाप मेल खाएनन् भन्ने नै देखिन्छ।' 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु अघि ज्ञवाली विशेष दुतका रुपमा भारतसमेत गएका थिए। तर एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री कालभर भारत र नेपालको सम्बन्ध चिसो रह्यो। ज्ञवाली भन्छन् – ‘भारत-नेपाल सम्बन्धमा यसबीचमा जे समस्या देखा परे, त्यो राजदूतका कारणले भएको होइन। राजदूतको कारणले चाहेर समाधान गर्न सक्ने पनि होइन। मूलत भारतको केन्द्रीय पोलिसीमा नेपाललाई हेर्ने समस्या छन्। त्यसैको प्रतिबिम्ब हो राजदूतको र दुतावासका व्यक्तिले गर्ने कुरा। व्यक्तिगत तहमा यहाँ सबै नेतासँग राम्रो सम्बन्ध भएर परिपक्व कुटनीतिज्ञको रुपमा उहाँबाट जुन एउटा पहल देखिनुपर्थ्यो, त्यो देखिएन।'

यद्यपि ज्ञवाली व्यक्तिगत रुपमा रायलाई एक सज्जन, भलाद्‍मी र सोभर कुटनीतिज्ञ मान्छन्।
 
ज्ञवाली जस्तै पूर्व राजदूत विजयकान्त कर्ण पनि रायलाई भलाद्‍मी नै मान्छन्। 'त्यस्तो हाइ टेन्सनको बेलामा समेत पनि उनले कहिल्यै टेम्पर लुज गरेनन्। भारत विरोधी अभियान चल्दा समेत सज्जन र भलाद्‍मी  रहे। नेताहरुसँग भेटिरहे। तल माथि बोलीराखेको देखिएन।'

तर कर्ण मधेशलाई रायले पक्षधरता देखाएको मान्न इन्कार गर्छन्। 'उहाँले  भारतीय नीति फलो गरेको हो। मोदीले 'प्लिज टेक एभ्रिबडी अन बोर्ड' भनेकाले त्यसैलाई फलो गरेको हो। मधेसमा आन्दोलन भैरहँदा सबैलाई मिलाऊ भन्नुको अर्थ मधेसीलाई मात्र मिलाऊ भनेको होइन', कर्ण भन्छन्, 'बरु एम्बेसीको रिसेप्सनहरुमा सबै कम्युनिटीलाई उपस्थित गराउनुभयो। काठमाडौँको इलिट वर्गको ठाउँमा कमनर पनि देखिन थाले। थारु र मुस्लिम पनि देखिए।'

कर्ण उदाहरण दिन्छन्-  ‘भारतीय दूतावासले एमबिबिएसको कोटामा १८ जनाको नाम निकाल्दा मधेसी र जनजाति ५ जना मात्र रहेछन्। बाँकी त अन्य रहेछन्।' 

कर्ण रायको कार्यकालमा भारतीय प्रधानमन्त्रीको दुई पटक भ्रमण हुनु, राष्ट्रपति नेपाल आउनु, विदेश मन्त्री तीन पटक नेपाल आउनु, इपिजी बैठक हुनु, हुलाकी परियोजना अगाडि बढ्नु, लोडसेडिङ अन्त्यमा सहयोग गर्नुले सफल मान्नुपर्ने तर्क गर्छन्। 

रायको कार्यकाल भोलि सकिँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell