
रुकुम : रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ।
गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पारेका थिए। प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला परेको थियो।
बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चारजनाको बम डिस्पोजल टोली सोमबार घटनास्थलमा पुगेको थियो। टोलीले शुक्रबार फेला परेका दुईवटा सकेट बम जमिनबाट निकालेर उक्त ठाउँभन्दा केही पर लगेर पड्काएर डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त बम माओवादी युद्धको समयमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। द्वन्द्वको क्रममा गाडिएका बम तथा अन्य हातहतियार रुकुममा बेलाबेलामा फेला पर्दै आएका छन्। रासस