काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवाद मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ। न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको सयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सुनुवाई निरन्तर हुनेछ।
गत बुधबार हेर्दाहेर्दैमा पेशी एक साताका लागि पर सारिएको थियो। दुई दिनसम्म अधिवक्ता कपिलदेव ढकालको रिट निवेदन र आइजीका प्रतिस्पर्धी नवराज सिलवालका तर्फबाट कानुन व्यवसायीको बहस सकिएको छ।
महान्यायाधिवक्तासहित सरकारी वकिलको बहस पनि सकिएको छ। आज विपक्षीका तर्फबाट कानुन व्यवासायीको बहस सकिएपछि पुनः निवेदकले जवाफ दिने मौका पाउनेछन्। दुई दिन लगातार बहस सकिएकाले सम्भवतः आज मुद्दामा आदेश हुनेछ।
कार्की र केसीको सयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेश निरन्तरता दिए डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा सिफारिस गर्ने निर्णय रोकिनेछ। आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ।
सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीजी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीजी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो।
फागुन ८ गते दुवैदेखि दुवै पक्षलाई छलफलमा बोलाएपनि प्राविधि कारणले फागुन ११ गतेबाट मात्र मुद्दाको सुनुवाई सुरु भएको थियो।