PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​उत्तरी लमजुङमा सेनाको स्वास्थ्य शिविर, ६ सयभन्दा बढी लाभान्वित



रासस

​उत्तरी लमजुङमा सेनाको स्वास्थ्य शिविर, ६ सयभन्दा बढी लाभान्वित

लमजुङ : नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । 

उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन्। 

नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो। शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो। 

शिविरमा विशेषज्ञ डाक्टरसहित नौ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए र आवश्यकताअनुसार औषधि पनि प्रदान गरिएको थियो। 

नियमित स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका बासिन्दा आफ्नै गाउँमा नेपाली सेनाको टोली आएर सेवा दिएपछि निकै खुसी भएका थिए। ‘सेनाले बन्दुक मात्रै बोक्छ भन्ने लागेको थियो, हामी जस्ता विकट गाउँमा सेवा पनि गर्दो रहेछ।’ सेवा लिन आउनुभएकी ५० वर्षीया दुर्गादेवी गुरुङले भनिन्। 

जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुभाङ्गद कटुवालले बताए। 

घेर्मु स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा घेर्मुसहित बाहुनडाँडा र ताघ्रिङका सर्वसाधारणले सेवा लिएका थिए। शिविरका लागि रोटरी क्लब अफ नारायणी मिड टाउन, चितवनस्थित मौलाकालिका अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले सहयोग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell