
बाबियाचौर : म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका छन्।
विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ मतदान गर्ने ५६ हजार ५५३ जना मतदाता रहेका थिए। पछिल्लो तीन वर्षयता १७ हजार जनाभन्दा बढी मतदाता थपिएका निर्वाचन कार्यालयले जनाएको ।
जिल्ला निर्वाचन, जिल्ला प्रशासन कार्यालय र घुम्ती टोली परिचालन गरेर तस्बिरसहितको मतदाता नामावली दर्ता गरिएको थियो। आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए।
आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन्। फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ। बाहिरी जिल्लामा नामावली दर्ता गरेका र १८ वर्ष उमेर पुगेका मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन अधिकारी पौडेलले जानकारी दिए।
उनका अनुसार आजदेखि पाँच दिनसम्म मतदाता नामावलीमा दाबी विरोध, त्रुटि सच्याउने कार्यतालिका रहेको छ।
यसैबीच, राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ।
आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिएपनि राज्य पुनःसंरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको निर्वाचन अधिकारी पौडेलले बताए।