PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​जुम्लाको सिँजा बहुमुखी क्याम्पसमा सहमतिमा स्ववियु चुनाव, सभापतिमा अमरसिंह खत्री



रासस

जुम्ला : जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री निर्विरोध निर्वाचित भएका छन्। 

सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित भएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिए। 

त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताए। 

यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी र सदस्य धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित भएका छन्। 

विसं २०६५ मा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी रहेका थिए । खत्री सिंजा बहुमुखी क्याम्पस स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। 

नवनिर्वाचितसभापति खत्रीले जनशक्ति र भौतिक पूर्वाधारको समस्या भएको यो क्याम्पसको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए। जुम्ला बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण आजका दिनसम्म चुनाव हुने वा नहुने भन्ने यकिन हुन सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell