सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ।
२०६७ सालमा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो।
दूधकुण्ड नगरपालिका–५ सोलुखुम्बुमा जिल्ला विकास समितिले निर्माण सुरु गरेर करिब तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको बसपार्कलाई यातायात व्यवसायीले मर्मत गरी सञ्चालनमा ल्याएका हुन्। आफूहरुले करिब दुई लाख ५० हजार लगानीमा बसपार्क सम्याउने तथा अस्थायी काउन्टर निर्माण गरी सोमबारदेखि सुचारु गरिएको संयुक्त यातायात व्यवसायी सङ्घ सोलुखुम्बुका अध्यक्ष केवल रानामगरले बताए।
यस्तै, बसपार्कको उद्घाटन गर्दै दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटृराईले व्यवसायीको प्रयासको सराहना गर्दै शौचालय निर्माण, बसपार्कमा ग्राभेललगायतको काममा नगरपालिकाले सहयोग गर्ने बताए।
अब जिल्लाबाट सञ्चालन हुने सबै व्यवसायी सङ्घले टिकट बिक्री तथा बस छुट्ने तथा आउने सबै सेवा बसपार्कबाट सुरु गर्ने जनाएका छन्।
अहिले सोलुखुम्बु सदरमुकामबाट काठमाडौँमा दैनिक करिब ३५ वटा जिप तथा दुईवटा बस, कटारीमा दैनिक पाँचभन्दा बढी जिप र जिल्लाभित्र ५० भन्दा बढी जिपले मानिसलाई यात्रा गराइरहेका छन्। बसपार्क नहुँदा ती सवारीसाधन जथाभावी पार्किङ गरिँदै आएको थियो।
त्यस्तै, आधा दर्जनभन्दा बढी यातायात व्यवसायी सङ्घले विभिन्न होटल अगाडि काउन्टर राखेर त्यहाँबाट यात्रु चढाउने र ओराल्ने गर्दा आवातजावतमा समस्या हुँदै आएको थियो।
बसपार्क सञ्चालनसँगै जथाभावी पार्किङका कारण उत्पन्न हुने ट्राफिक समस्या समाधान हुने जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले विश्वास व्यक्त गरे।