काठमाडौं : वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ। आचारसंहिता लागूपछि सरकारले चुनावलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाउदैन। कर्मचारी सरुवा, बढुवालगायतका काम रोकिनेछन्। अत्यन्तै आवश्यक माने सरुवा बढुवामा निर्वाचन आयोगसँगको परामर्श र सहमतिमा मात्र सरकारले निर्णय गर्न पाउँनेछ।
आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा मंगलबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले मंगलबारको आयोग बैठकले आचारसंहिता लागू सम्वन्धी निर्णय लिने सम्भावना रहेको बताए।
आचारसंहिता सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल र सञ्चारमाध्यमलाई पनि आकर्षित हुनेछ। मौन अवधिमा सञ्चारमाध्यले चुनावको प्रचारप्रसार गर्न पाउँदैनन्। नियमित प्रक्रियामा रहेको बढुवा भने सरकारले गर्न पाउनेछ। प्रक्रियामा रहेका नयाँ पदपूर्ति पनि अघि बढाउन बाधा पुग्नेछैन।
आचारसंहिता पालना नभएमा आयोगलाई कारवाही गर्न सक्ने अधिकार निर्वाचन आयोग ऐन र निर्वाचन कसुर तथा सजायँ निर्धारण ऐनले दिएको छ। आचारसंहिता उल्लङ्घनमा राजनीतिक दलहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
राजनीतिक दलहरुले चुनावको प्रचारप्रसार समेत आचारसंहिताको अधीनमा रहेर गर्नुपर्छ। पोष्टर, पम्प्लेट समेत आयोगले निर्धारण गरेको मापदण्डमा आधारित हुनेछ।