
गत वर्ष प्रिमियर लिग च्याम्पियन बनाएका क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमै लेस्टर सिटीले लिभरपुर विरुद्ध शानदार जित निकालेको छ।
किङ्ग पावर स्टेडियममा जेमी भार्डीले दुई गोल गरेपछि लेस्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो।
जितसँगै लेस्टर रेलिगेशन जोनबाट ३ स्थान माथि उक्लदै १५ औं स्थानमा पुगेको छ।
घरेलु मैदानमा २८ औं मिनेटमा भार्डीले व्यक्तिगत पहिलो गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। ३९ औं मिनेटमा डानी ड्रिङ्कवाटरले गोल थपेपछि लेस्टरले पहिलो हाफमै २ गोलको अग्रता बनायो।
६० औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले ३-० को अग्रता बनायो।
लिभरपुलका लागि ६८ औं मिनेटमा फिलिप काउटिन्होले एक गोल फर्काए।
जितसँगै लेस्टरले २६ खेलबाट २४ अंक जोडेको छ। लेस्टरले समान अंक रहेको स्वान्सी सिटीलाई गोल अन्तरमा पछि पारेको हो।
हारसँगै लिभरपुल भने ४९ अंकका साथ पाँचौं स्थानमा यथावत छ।
रानिएरीको बखास्तसँगै लेस्टरको प्रशिक्षण अन्तरिम प्रशिक्षक क्रेइग शेक्सपियरले सम्हालेका थिए।