काठमाडौँ : नेपाल प्रेस युनियन काठमाडौँले आसन्न नेपाल पत्रकार महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ।
शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत १ गते हुने काठमाडौँ महासङ्घको निर्वाचनका लागि युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। सदस्यमा युनियन काठमाडौँ शाखाका सल्लाहकार, अध्यक्ष, पदाधिकारी, पत्रकार महासङ्घ काठमाडौँका पदाधिकारी, उपत्यका समिति सदस्य सचिव, युनियन केन्द्रीय समितिमा रहेका काठमाडौँ शाखाका सदस्य छन्।
बैठकले शाखाका सल्लाहकारमा शाखाका पूर्वअध्यक्ष गोकर्ण अर्याल, शिव लम्साल र लीलाराज खनाललाई थप गर्ने निर्णय गरेको छ। यसैगरी पत्रकार महासङ्घको युनियनतर्फको उम्मेदवारका लागि शाखाका अध्यक्ष अर्यालको संयोजकत्वमा उपाध्यक्ष देवी सापकोटा, सचिव महेश्वर गौतम, सहसचिव खगेन्द्र भण्डारी र कोषाध्यक्ष भागवत भट्टराई सदस्य रहेको समिति गठन गरेको छ।
यस्तै महासङ्घको चुनाव प्रचारप्रसार समितिमा शाखाका सचिव गौतमको संयोजकत्वमा सदस्य अच्युत रेग्मी, पुष्पा शर्मा, लक्ष्मी सापकोटा, अक्कल कुँवर, अर्जुन अधिकारी, सुमन सापकोटा र सुदीप रेग्मी सदस्य रहेको समिति गठन गरेको छ।
बैठकले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गर्ने, नयाँ सदस्यता वितरण तथा नवीकरणलाई तीव्रता दिने र युनियनको इतिहास समेट्ने गरी स्मारिका निकाल्ने निर्णय पनि गरेको छ।