
काठमाडौं : यस वर्ष तीन हजार एकसय जनालार्इ मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि दस हजार दुर्इ सय नेपाली कामदार लैजाने भएको छ।
सन् २०१८ मा दक्षिण कोरिया सरकारले इपिएसमार्फत १० हजार दुईसय जना नेपाली कामदार लैजाने भएको हो। रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाले कामदारको कोटा ह्वात्तै बढाएपछि कोरिया जान चाहनेहरुलार्इ आगामी वर्ष उत्साहप्रद बनेको छ।
कोरिया सरकारले वैदेशिक रोजगारअन्तर्गतको इपिएस कोरिया शाखालाई यो वर्ष १० हजार दुईसय कामदार लैजाने औपचारिक जानकारी दिएको शाखाका निर्देशक बावुराम खतिवडाले बताए।
उनका अनुसार कोरियन भाषाको परिक्षामा उत्तिर्ण हुने मध्येबाट चार हजार जना उत्पादनमूलक क्षेत्रमा तथा ६ हजार दुई सयजना कृषिसम्बन्धी कामका लागि माग भएको बताए।
'कोरिया सरकारसँग निरन्तरको प्रयास पश्चात हामी कोटा थप गर्न सहमत गराउन सफल भएका छौं' खतिवडाले भने 'यसलाई निरन्तरता दिएर आगामी वर्षहरुमा पनि थप गर्न प्रयत्न गर्नेछौं।'
भाषा परीक्षा फारम चैत ९ गतेदेखि
सन् २०१८ को इपिएसअन्तर्गतको भाषा परीक्षाका लागि इच्छुकले अब अनलाइन फारमसमेत भर्न पाउने भएका छन्। यो वर्षदेखि भाषा परीक्षाका लागि लागू गरिने अनलाइन फारमका लागि आगामी चैत्र नौ गतेदेखि १८ गतेसम्म अनलाइन आवेदन बुझ्ने बताइएको छ। परीक्षा भने जेठमा गर्ने तयारी भैरहेको शाखाका निर्देशक खतिवडाले जानकारी दिए।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले अनलाइन प्रणालीअनुसार आवेदन फारम लिन लागेको हो। यसअघि भाषा परीक्षा दिनका लागि फारम बुझाउन मात्रै घण्टौँ लाइन लाग्नु पर्ने अवस्था थियो।
निर्देशक खतिवडाका अनुसार अनलाइनमार्फत आवेदन बुझ्ने व्यवस्थाले दिनभर लाइनमा बसेर फारम बुझाउनुपर्ने समस्या भने अन्त्य हुनेछ।