
काठमाडौं : अघिल्लो वर्ष पनि एक महिना मञ्चन भएको नाटक 'मान भर्सेस मती’को पुनर्मञ्चन गरिएको छ। सुन्धरास्थित काठमाडौं मलमा रहेको नाटकघर थिएटर मलमा फागुन १३ गतेदेखि नाटक मञ्चन भइरहेको छ।
यसपटक कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले 'मान भर्सेस मती’मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा सजीव उतारेका छन्। उनीहरु नाटकमा श्रीमान् र श्रीमतीको भूमिकामा छन्। उनीहरुबीचको द्वन्द्वलाई नै प्रतीकात्मक रुपमा ‘मान भर्सेस मती’ नाम दिइएको हो।
हरेक दिन हामीले घर समाजमा देख्ने घटना, पात्र र प्रवृत्ति नै नाटकमा देख्न सकिन्छ। पारिवारिक द्वन्द्व नाटकको मूल विषय हो। सम्बन्ध विश्वासमा चलेको हुन्छ। जब विश्वासमा अविश्वासको भाइरस छिर्छ तब सम्बन्ध मक्किन थाल्छ। ‘मान भर्सेस मती’ ले यही विश्वास र अविश्वासबीच फेरबदल हुने पारिवारिक सम्बन्धको रुपरेखा कोर्ने प्रयास गरेको छ।
मध्यम वर्गीय सामान्य परिवारको अति सामान्य कथामा नाटक बुनिएको छ। नाटकमा एक श्रीमती छिन्, उनका श्रीमान् छन्। परिवारिक बोझले थिचिएको श्रीमान जीवन निर्वाहका लागि फिल्म क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गर्छन्। जब उनी कामबाट थाकेर घर फर्किन्छन्, श्रीमती सिरियल हेरेर बसिरहेकी हुन्छिन्। उनलाई लाग्छ श्रीमतीले बेवास्ता गर्दैछे। यसपछि उनीहरुबीच भनाभन हुन्छ। उनीहरुको झगडाको फाइदा बाहिरकाले उठाउन खोज्छन्। तराईबाट कलाकार बन्ने सपना बोकेर आएको रजनीरुपेश र भाइ त्यस्ता पात्र हुन्।
‘मान भर्सेस मती’ का पति पत्नीबीच ठाकठुक चलिरहन्छ। नाटकमा जोडिएर आउने सबल विषय हो मिडियाको प्रभाव। दिनभर सिरियल हेरेर बस्ने श्रीमती श्रीमानलाई पनि सिरियलमा केटी खेलाउने पुरुष पात्रसँग तुलना गर्न पुग्छिन्।
विश्वासमा बाँधिएको सम्बन्धको डोरी सामान्य परिस्थितिको हिर्काइबाटमात्रै पनि चुँडिन सक्छ भन्ने सन्देश नाटकमा छ।
नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीले अभिनय गरेका छन्। केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटकमा घनश्याम श्रेष्ठको प्रकाश परिकल्पना छ।